टाटाको ‘नेक्सन केथ्री इभी’ नेपाली बजारमा
टाटा मोटर्सले नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’ को नेपाली बजारमा बूकिङ खुला गरेको छ।
टाटाको नेपालस्थित विक्रेता सिप्रदी ट्रेडिङले ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बूकिङ पनि खुला गरेको हो। यसमा सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधा रहेको कम्पनीले जनाएको छ।
यसको शुरूआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ। शुरूआती अफरमा ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने भएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विद्युतीय गाडी नेक्सन इभी प्राइमलाई नेपाली ग्राहकले अत्यधिक मन पराएको बताए। ग्राहकको रुचि अनुसार नै कम्पनीले १८५ वटा चार्जिङ स्टेशन, १६ वटा सर्भिस सेन्टर सञ्चालन गरेको उनको भनाइ थियो।
टाटाको इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेपालभर तीन हजारभन्दा बढी ग्राहकको साथ सहित नेक्सन केथ्री ईभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाइसकेको बताए।