रविसँग एक करोड धरौटी माग्दा अदालतले लिएका आठ आधार
सुप्रिम बचत तथा ऋण सहकारीको रु. एक अर्ब ३१ करोड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड धरौटी माग गर्दा जिल्ला अदालत, रुपन्देहीले आठ वटा आधार लिएको छ।
जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार ‘रविले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परिक्षण गर्दा ठहरे बमोजिम हुने गरी’ धरौटीमा छाड्न आदेश दिएको हो। उनी धरौटीमा रिहा भइसकेका छन्।
अदालतले चेकमा भएका हस्ताक्षर आफ्नै हो भन्ने बयानदेखि संसदीय छानबिन समिति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सुप्रिम सहकारीको ऋणपत्रमा बुटवल–११ ठेगाना लेखाइएका रवि लामिछाने र गोर्खा मिडियाका प्रबन्धक रवि लामिछाने एउटै व्यक्ति भएको बयान आदिलाई आधार मानेको देखिन्छ।
जिल्ला अदालत, रुपन्देहीले रविसँग एक करोड धरौटी माग्दा लिएका आधारहरू
१. सुप्रिम बचत तथा ऋण सहकारीबाट धितो तथा आवश्यक कागजात, प्रमाण विना रवि लामिछाने समेतको संयुक्त नाममा रहेको ग्लोबल आइएमई ब्यांकमा एक करोड ९६ लाख रकम समेत गरी गोर्खा मिडिया नेटवर्कको लामिछाने सहितको संयुक्त खातामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गएको लेखापरीक्षण प्रतिवेदन समेतबाट देखिएको
२. सहप्रतिवादी छविलाल जोशीको गोर्खा मिडियाको आर्थिक कारोबार सहित सम्पूर्ण विषय सञ्चालनको जिम्मेवारी गितेन्द्रबाबु राई र रवि लामिछाने रहेको भन्ने लिखित बयान
३. सहप्रतिवादीहरू ओमप्रकाश गुरुङ र कुमार रम्तेलले गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहेका रविको नाममा सुप्रिम सहकारीबाट उक्त गोर्खा मिडियाको ब्यांक खातामा परिचालन तथा व्यवस्थापन वा प्रयोग रविको हस्ताक्षरबाट भएको र सुप्रिम सहकारीको ऋण सम्बन्धी आन्तरिक ऋणपत्रमा उल्लेख भएको रवि लामिछाने र गोर्खा मिडियाका प्रबन्ध सञ्चालक रवि लामिछाने एकै व्यक्ति हुन् भनी लेखाएको व्यहोरा
४. गोर्खा मिडियाका लेखापालद्वय सञ्जय अधिकारी र रजनी श्रेष्ठले कागज गर्दा चेक तयार गर्ने आदेश गर्दा चेकहरू तयार गरी कहिले गितेन्द्रबाबु राई र राई नहुँदा रवि लामिछानेलाई हस्ताक्षर गराउँथ्यौं भन्ने व्यहोराको बयान
५. रविको नामबाट ७५ लाख रुपैयाँ गोर्खा मिडियाको ब्यांक खातामा जम्मा भएको भन्ने संसदीय छानबिन समितिको प्रतिवेदन
६. गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविले नै आर्थिक कारोबार गर्ने गरेको पाइएको भन्ने वित्तीय विश्लेषणको प्रतिवेदन
७. ग्लोबल आइएमई, नबिल र सिभिल ब्यांकमा रवि र अन्य सहप्रतिवादीको नाममा रहेको संयुक्त खाताको रकम रविको हस्ताक्षरमा चेक जारी भएको मिसिलमा पेश भएका चेकहरू देखिएको र
८. चेकहरूमा आफ्नो सही रहेको भन्ने रविको बयान।