डेभिज फल्स पोखरा महानगरले नै चलाउने निर्णय
चर्चित पर्यटकीय गन्तव्य ‘डेभिज फल्स’ अर्थात् पाताले छाँगो पोखरा महानगरपालिकाले सञ्चालन गर्ने निर्णय भएको छ।
आइतबार बसेको सर्वदलीय बैठकले पाताले छाँगो महानगरले सञ्चालन गर्ने निर्णय गरेको मेयर धनराज आचार्यले जनाएका छन्। सर्वदलीय बैठकले ‘डेभिज फल्स पोखरा महानगरपालिका आफैंले कानून बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने’ निर्णय गरेको हो।
पाताले छाँगो सञ्चालनका विषयमा महानगर र छोरेपाटन माविबीच विवाद भइरहेको थियो। स्कूलले सञ्चालन गर्नुपर्ने दाबी गरेपछि महानगरले ताला लगाएको थियो। त्यसपछि विद्यालयले अर्को ताला थपेको थियो।
विवाद समाधान गर्न महानगरले आइतबार सर्वदलीय बैठक बोलाएको हो। बैठकमा मेयर प्रमुख आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख सहभागी थिए।
त्यस्तै, पाताले छाँगो रहेको पोखरा-१७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पूर्व अध्यक्षहरू पनि सहभागी थिए।