कृषिविज्ञ मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर
कृषिविज्ञ मदन राईलाई बाल यौन दुरुपयोग कसूरमा दोषी ठहर गरिएको छ।
जिल्ला अदालत, खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले राईलाई दोषी ठहर गरेको हो। अदालतले माघ १० मा कसूरदार ठहर गरेका राईलाई दिइने सजाय माघ २५ मा निर्धारण गर्नेछ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-२, सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउन्डेशनमा रहेका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग राईलाई लागेको थियो। त्यसमा उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
यस मुद्दामा अदालतले राईलाई दोषी ठहर गरेको स्रेस्तेदार सीताराम खड्काले बताए। “बाल यौन दुराचारमा कसूर ठहर भएको छ,” खड्काले भने, “अब सजाय निर्धारण हुन बाँकी छ। कति सजाय गर्ने भन्ने कुरा माघ २५ गते फैसला हुन्छ।”
राई शुभम फाउन्डेशनका संस्थापक तथा सञ्चालक हुन्। राईले यौन दुर्व्यवहार गरेको भन्दै फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसका आधारमा प्रहरीले २०८० वैशाख २९ मा राईलाई पक्राउ गरेको थियो। मुद्दाको फैसला नभएसम्म फाउन्डेशनमा जान नपाउने गरी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटीमा रिहा भएका थिए।
उनी विरुद्ध २०८० जेठ २१ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी कसूरमा अभियोगपत्र दायर भएको थियो। अभियोगपत्रमा उनलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।
‘गरी खान सिकाउने’ नारा सहित प्रयोगात्मक शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेशनमा विभिन्न जिल्लाका १०० भन्दा बढी विद्यार्थी बसेर अध्ययन गरिरहेका छन्।