पाथीभरा झडपका तीन गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो
पाथीभरा केबलकार निर्माणको विषयमा भएको झडपमा तीन गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
झडपमा चार जना प्रदर्शनकारी र २० जना सुरक्षाकर्मी घाइते भएका थिए। उनीहरूमध्ये सगुन लिम्बू, यमबहादुर लिम्बू र धर्मन पालुङ्वा लिम्बू गम्भीर छन्।
तीनै जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत आइतबार मध्याह्न काठमाडौं ल्याइएको हो। उनीहरूलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको आन्दोलनरत पक्षका अगुवा सरोज लिम्बूले बताए।
यमबहादुरको तिघ्रामा गोली लागेको छ। सगुनको पछाडिको पातामा गोली लागेको छ। दुवै जना बोलचाल गरिरहेको भए पनि अवस्था गम्भीर छ। त्यस्तै, धर्मनको दाहिने कुम भाँचिएको छ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि बलुडाँडामा स्थानीय बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको थियो।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको छ। स्थानीय बासिन्दाले भने धार्मिक क्षेत्रमा केबलकार बनाउन नहुने जनाउँदै विरोध गर्दै आएका छन्।