लिपुलेकबारे भारत-चीनबीचको सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन
नेपाली भूमि लिपुलेक प्रयोगको सन्दर्भमा भारत र चीनबीच भएको सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले माघ ६ गते विरोध प्रदर्शन गरेको हो। गत डिसेम्बर तेस्रो साता भारत र चीनले नेपाललाई जानकारी नदिई लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेका थिए।
पाँच वर्ष पहिले कोभिड-१९ का वेला रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवतजावतलाई निरन्तरता दिने विषयमा दुई देशले बेइजिङमा सहमति गरेका थिए। प्रदर्शनकारीले दुई देशबीचको सहमति खारेज गरेर लिम्पियाधुरालाई त्रिदेशीय बिन्दु बनाउनुपर्ने माग गरेका छन्।

सन् १८१६ को सुगौली सन्धिमा लिम्पियाधुरा मुहान भएको महाकाली (काली) नदी पूर्वका भूभाग नेपालको हुने उल्लेख छ। सुगौली सन्धि लगायत ऐतिहासिक प्रमाण तथा तथ्य अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भूभाग आफ्नो भएको नेपालको अडान छ।
प्रदर्शनकारीले संविधान संशोधन, एमसीसी सम्झौता, संस्थागत भ्रष्टाचार आदिको समेत विरोध गरेका छन्।
यो पनि पढ्नुहोस् : नेपाललाई नसोधी लिपुलेक प्रयोगमा भारत र चीनबीच सहमति