नेपाली टीमको कप्तानी किरणले गर्ने
कतारमा हुने विश्वकप २०२२ मा छनोटका लागि नेपालको खेल १९ भदौबाट शुरु हुँदैछ । नेपालको पहिलो खेल कुवेतसँग हुँदैछ ।
कुवेतसँग खेल्ने टीमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाइ गरेको छ । तर, नेपाली टीममा नियमित कप्तान विराज महर्जन भने सामेल छैनन् ।
म्याच फिक्सिङ प्रकरणमा कप्तान सागर थापासहित खेलाडी तानिएपछि विराजले कप्तानी गर्ने अवसर पाएका थिए । कप्तानी पाउनासाथ लगातार नेपाललाई उपाधि दिलाएर चर्चामा आएका विराज महर्जन केही दिन अगाडि मलेसियामा भएको मैत्रीपूर्ण खेलमा पनि थिएनन् ।
त्यसबेला सुजल श्रेष्ठले नेपालको कप्तानी गरेका थिए । तर, विश्वकप छनोट खेलमा भने गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।
विश्वकप छनोट खेल्न २३ सदस्यीय खेलाडी र १२ अफिसियल गरी ३५ जनाको टोली आइबार कुवेत प्रस्थान गर्दैछ । यही टीमले १० सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध खेल्दैछ ।
एसिया कपका लागि समेत हुने छनोट खेलमा नेपाल समूह ‘बी’मा परेको छ । यो समूहमा नेपालसहित कुवेत, चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलिया छन् । समूहको शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल
मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द, रवि पासवान
फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल