ग्लोबल आइएमई ब्यांकद्वारा ३५ विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई ब्यांकले यस वर्ष ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।
ब्यांकको १८औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको हो। ब्यांक पुस १८ गते १९औं वर्षमा प्रवेश गर्दै छ।
ग्लोबल आइएमई छात्रवृत्ति कार्यक्रम अन्तर्गत ब्यांकले सामुदायिकमा अध्ययनरत कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जेहेनदार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। उनीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि हरेक वर्ष १२ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट पाँच जेहेनदार छात्रा छनोट गरिनेछन्। यो कार्यक्रम अन्तर्गत अहिलेसम्म १४० जनालाई छात्रवृत्ति प्रदान गरिएको ब्यांकले जनाएको छ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने ब्यांकको विश्वास छ।