छेङ्दुबाट चार्टर्ड विमान पोखरा आइपुग्यो, दुई वर्षमा नौ उडान
चीनको छेङ्दुबाट सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। उद्घाटनयता पोखरा विमानस्थलमा भएको यो नवौं अन्तर्राष्ट्रिय उडान हो।
नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पोखरा महानगरपालिका, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएशनले आयोजना गर्ने ‘ड्रागन बोट रेस’ मा भाग लिन चिनियाँ खेलाडी पोखरा आइपुगेका हुन्। बिहीबार छेङ्दुबाट १२६ यात्रु लिएर सिचुआन एअरलाइन्सको विमान पोखरा अवतरण गरेको हो।
दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता पुस १४ र १५ गते हुनेछ। फेवा तालमा आयोजना हुने प्रतियोगिताका लागि चिनियाँ खेलाडी आएका हुन्। चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल आयोजना भएको थियो।
२०७९ पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। त्यसयता नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अहिलेसम्म नौ वटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन्, जसमा एउटा मात्रै व्यावसायिक उडान भएको छ।
सिचुआन एअरलाइन्सकै विमानले २०८० असार ६ मा पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। फेवा तालमा आयोजित ‘नेपाल-चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुन चिनियाँ खेलाडी विमान चार्टर्ड गरेर आएका थिए।
त्यसपछि भूटानको पारो विमानस्थलबाट ड्रूक एअर २०८० भदौ २३ मा पोखरामा अवतरण गरेको थियो। तीन यात्रु र चार चालक दलका सदस्य सहित पोखरा ओर्लिएको विमानले फर्किंदा ४२ पर्यटक लगेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसलाई व्यावसायिक उडानमा राखेको छ। त्यस बाहेक सबै सात वटा चार्टर्ड उडान भएको पोखरा विमानस्थलकी प्रवक्ता जसोदा सुवेदी बताउँछिन्।
त्यसपछि २०८० कात्तिक २२ मा जाजरकोट भूकम्पपीडितका लागि राहत सामग्री बोकेर चीनको जनमुक्ति सेनाका दुई वटा विमान छेङ्दुबाट आएका थिए। त्यसको दुई सातापछि मंसीर ७ मा हिमालय एअरलाइन्सको विमान ‘माउन्टेन क्रस कन्ट्री दौड’ प्रतियोगिताका लागि खेलाडी सहित ९५ जनालाई लिएर आएको थियो। चीन सरकारको साझा समृद्धिका लागि दौड कार्यक्रम अन्तर्गत उनीहरू पोखरा आएका थिए।
यससँगै अन्तर्राष्ट्रिय सर्टिफिकेट प्राप्त हिमालय एअरलाइन्सका काठमाडौं-पोखराका दुई वटा उडानलाई पनि उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा राखेको छ।
त्यसपछि गत कात्तिक २२ मा चीनको कुनमिङ शहरबाट १३४ पर्यटक लिएर सिचुआन एअरलाइन्सकै ‘एअर बस-३१९’ अवतरण गरेको थियो। पोखरामा आयोजना भएको ‘क्रस कन्ट्री दौड’ प्रतियोगितामा सहभागी हुन चीन सरकारकै पहलमा खेलाडी लिएर सिचुआन एअरलाइन्सको विमानले चार्टर्ड उडान भरेको थियो।
यस पटक पनि सिचुआन एअरलाइन्सकै विमान चार्टर्ड उडान भरेर पोखरा पुगेको हो। ड्रागन बोट रेसमा भाग लिन आएका खेलाडीलाई पोखराका मेयर धनराज आचार्य लगायतको टोलीले स्वागत गरेको छ।
प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट ११, चीनबाट आठ र सिंगापुरको एक टोली प्रतियोगितामा सहभागी हुने जनाइएको छ।