वाइडबडी भित्रिएको एक वर्षपछि पहिलो पटक लामो उडान
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एक वर्ष अगाडि ल्याएको वाइडबडी विमानबाट पहिलो पटक लामो उडान भरेको छ ।
बिहीबार बिहान २ः३८ बजे काठमाडौंबाट उडेको विमान साढे ६ घण्टापछि जापानको ओसाका पुगेको हो । पहिलो पटक लामो दूरीको उडान मात्रै नभएर ‘ए’ ३०३० जहाजले पहिलोपटक नेपालबाट सीधा जापानको उडान समेत भरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मन्त्री भट्टराईले ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताएका थिए ।
ओसाका उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिलगायत १४९ जना सवार छन् ।
निगमले २७४ यात्रु क्षमताको वाइडबडी ‘ए’ ३३०–२०० जहाजबाट साताको मंगलबार, बिहीबार र शनिबार काठमाडौं–ओसाका नियमित उडान गर्ने जनाएको छ ।
निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवर्द्धनात्मक भाडा दर हो ।
एक महीनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।