सुदूरपश्चिमका बलर चम्किंदा काठमाडौं धराशायी
सुदूरपश्चिम रोयल्सका बलर चम्किंदा काठमाडौं गुर्खाज फराकिलो अन्तरले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं ९४ रनमै समेटियो।
काठमाडौंका लागि स्टेफन इस्किनजीले ३७, सुमित महर्जनले १४, भीम सार्की र गेहार्ड इरसमसले १०-१० रन बनाए। अन्य ब्याटर चल्न सकेनन्।
काठमाडौंसँगको सुदूरपश्चिमका बलर प्रभावशाली रहेछ। नरेन साउदले पाँच विकेट लिए। उनले ३.५ ओभरमा १९ रन मात्रै खर्चिए। त्यस्तै, अभिनाश बोहराले दुई, ब्रान्डन मेकमुलन र सैफ जैइबले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि मेकमुलनले अर्धशतक बनाए। उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५३ रन जोडे। त्यस्तै, विनोद भण्डारीले ३५, दीपेन्द्रसिंह ऐरीले ४३ र सैफ जैइबले ११ रन बनाए।
काठमाडौंका लागि रसिद खानले दुई, करण केसी, शहाब आलम र गेहार्ड इरसमसले एक-एक विकेट लिए।
यसअघि भएको खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। अब शुक्रबार कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।