हिमालकर्मी दाहाललाई मेयर साम्पाङले दिए धम्की
धरानका मेयर हर्क साम्पाङले समाचारको विषयलाई लिएर दुई जना पत्रकारलाई धम्की दिएपछि नेपाल पत्रकार महासंघले सुरक्षित वातावरण बनाउन माग गरेको छ।
मेयर साम्पाङले पत्रकारद्वय जनकऋषि राई र हिमालकर्मी गोपाल दाहाललाई धम्की दिएका हुन्। राई नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष हुन् भने दाहाल केन्द्रीय पार्षद् हुन्।
मेयर साम्पाङले दुवै पत्रकारलाई सामाजिक सञ्जाल फेसबूक मार्फत पत्रकार सम्मेलनमा नआएमा ‘बेइज्जत गरेर शिर ठाडो पारेर हिंड्न दिनेछैन’ भनेर धम्की दिएका हुन्। मेयर साम्पाङका विषयमा खोज पत्रकारिता केन्द्रले तयार पारेको खोजमूलक रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसैलाई लिएर साम्पाङले धम्क्याएका छन्।
मेयर साम्पाङको धम्क्याउने कार्यको विरोध जनाउँदै नेपाल पत्रकार महासंघ, सुनसरीले सुरक्षित वातावरण बनाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको हो। महासंघका सचिव ध्रुव ढकालले प्रेस विज्ञप्ति जारी गरी मेयर साम्पाङले पत्रकारप्रति यस किसिमको व्यवहार गर्नु निन्दनीय र लज्जास्पद भनेका छन्।
महासंघले भनेको छ, ‘यो घटना संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारमाथिको ज्यादती हो। महासंघ जिल्ला शाखा पत्रकारको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन माग गर्दछ।’
यो पनि पढ्नुहोस् : हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान