४१ पदमा उपनिर्वाचन, मतदाताको उत्साहजनक सहभागिता
स्थानीय तहमा रिक्त ४१ पदका लागि आज बिहानदेखि शुरू भएको उपचुनावमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
निर्वाचन आयोगका अनुसार नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ।
उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता छन्। विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन्।
प्रवक्ता अर्यालका अनुसार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको छ।