एनपीएल शुरू, विराटनगर र जनकपुरको प्रतिस्पर्धा
टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि शुरू भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल शुरू भएको हो। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्टस् प्रतिस्पर्धा गर्दै छन्।
जनकपुरले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ। अनिलकुमार साहको नेतृत्वमा जनकपुर र सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर खेल्दै छन्।
आजदेखि शुरू भएको प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्टस्, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स छन्।
एनपीएलमा नेपालीसँगै विदेशी खेलाडी सहभागी छन्। एनपीएल विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, उपविजेताले ५५ लाख, तेस्रोले ३० लाख र चौथो हुने टोलीले २० लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।