विदेशमा पनि नेपालीले नसिकेको जिउने काइदा
हङकङ पुगेका नेपालीले चिनियाँ भाषा सिके, संस्कृति अनुसरण गर्न नयाँ वर्षमा ‘लाइसी’ दिन सिके, तर चिनियाँहरूले जस्तै स्वस्थ जीवन बाँच्ने काइदा सिकेनन्।
संसारमा लामो आयु बाँच्ने मान्छे बस्ने शहरमा हङकङ पनि पर्छ। हङकङवासीको औसत आयु ८५.६ वर्ष छ। अति व्यस्त यो शहर स्वस्थ पनि छ। तर हङकङमा बस्ने नेपालीहरू अल्पायुमै ज्यान गुमाइरहेका छन्।
तीन दशकअघि बाग्लुङबाट आएर श्रम गरिरहेका यामबहादुर बुढाथोकी मगर सदा झैं कात्तिक २४ को बिहान काममा जाने तयारीमा थिए। अकस्मात उनको देब्रे छातीमा चसक्क दुखेको अनुभव गरे। आवास नजीकै रहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भए।
आईसीयूमा पनि छातीको दुखाइ कम भएन। झन् झन् दुखाइ बढ्दै गएपछि अचेत भएका बुढाथोकी होशमा आएनन्। त्यसै दिन उनले प्राण त्यागे। हृदयाघातका कारण उनको ज्यान गएको चिकित्सकले सुनाए।
नेपालीको सघन बसोबास रहेको हङकङमा समाजसेवीका रूपमा परिचित बुढाथोकीको आकस्मिक मृत्युको खबरले सबैलाई दुखित बनायो। उनी नेपालीमाझ चर्चामा रहिरहे।
तीन दिनपछि अर्का एक नेपालीको मृत्युको खबर शहरभरि फैलियो। ललितपुर घर भई हङकङस्थित याउमातेईमा बस्ने ३६ वर्षीय रघु क्षेत्री कात्तिक २७ गते बेलुकी राम्रैसँग सुतेका थिए, तर बिहान नउठेपछि अस्पताल लगियो। चिकित्सकले जाँच गर्ने बित्तिकै मृत घोषणा गरे। चिकित्सकले हृदयाघातबाट क्षेत्रीको ज्यान गएको अनुमान गरेका छन्।
त्यस्तै, एक महीनाअघि कार्यस्थलमै ढलेकी ६२ वर्षीया प्रमिला गुरुङको एक सातासम्म अस्पतालमा उपचार चल्यो। केही गरी होशमा आइनन्। कात्तिक ६ मा चिकित्सकले ‘सरी, शी इज नो मोर’ भनेका थिए।
महीना दिनमै तीन जनालाई अल्पायुमै गुमाएका हङकङका नेपालीका आफन्तले आकस्मिक रूपमा छाडेर गएका यी घटना नौला थिएनन्। साउन पहिलो साता रेस्टुरेन्ट व्यवसायी नामलिङ लिम्बू भान्सामा खाना पकाउँदा पकाउँदै ढलिन्। तत्कालै स्थानीय कोङ्वा अस्पतालको आईसीयूमा भर्ना गरियो। जति गर्दा पनि होशमा आइनन्। १९ दिनपछि चिकित्सकले मृत्यु भएको घोषणा गरे।
पछिल्लो एक महीनामै १० नेपालीले अल्पायुमै मृत्युवरण गरेका छन्। ज्यान गुमाउनेमा ४० देखि ६० वर्षबीचका छन्।
मंसीर २ मा त तीन जनाको अन्त्येष्टिका लागि हङकङमा रहेका नेपाली हुमहाङस्थित शवदहन कक्षमा पुगे। उसै पनि अन्त्येष्टिमा पुग्नेहरूको अनुहार मलिन नै हुन्छ, झन् अल्पायुमै आफन्त गुमाउँदाको पीडा त अवर्णनीय हुने नै भयो। उनीहरूको एउटै प्रश्न थियो- हङकङका नेपाली किन अल्पायुमै ज्यान गुमाइरहेका छन्?
हङकङका नेपालीको अकालमा हुने मृत्युका पछाडि उच्च रक्तचाप र त्यसले निम्त्याउने हृदयाघात प्रमुख कारण मानिंदै आएको छ। जुन सीधै खानपान र जीवनशैलीसँग जोडिन्छ।
सामूहिक रूपमा नेपालीको हङकङ आगमन सन् १९९७ पछि शुरू भयो। बेलायतले हङकङ छाड्दा चीन-हङकङ-बेलायतबीच भएको सम्झौताले सन् १९९७ अघि हङकङमा जन्मिएका व्यक्तिले स्थायी बसोबासको सुविधा पाउने व्यवस्था गरेको थियो। जस अन्तर्गत बेलायती सेनामा कार्यरत नेपाली गोर्खा सैनिकका बालबालिका, जो सन् १९९७ अघि हङकङमा जन्मिएका थिए, उनीहरूले यो सुविधा पाए। त्यसकै आधारमा हङकङमा नेपालीको स्थायी बसोबास बढ्न थाल्यो।
प्रायः मान्छेले जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति सँगसँगै बोकेर गएका हुन्छन्। अझ नेपाली त यसमा अगाडि देखिन्छन्। हङकङमा अपवाद हुने कुरै भएन।
तर हङकङमा जनघनत्व असाध्यै भएकाले र हावापानी पनि विशेष रहेकाले प्रकृति र समाजसँग सामञ्जस्य मिलाउन जरूरी हुन्छ। अधिकांश नेपालीले यसलाई गम्भीर रूपमा लिएको देखिंदैन। हङकङको हावापानीसँग भिजेर परापूर्वकालदेखि नै बसिरहेका स्थानीय चिनियाँको आनीबानी अध्ययन गर्नु त कता हो कता, बरु नेपालकै जीवनशैली अपनाइरहेका हुन्छन्। यसले स्वास्थ्यमा असर पार्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
नचिनेको चिनियाँ जीवनशैली
हङकङका चिनियाँको औसत आयु ८० वर्षभन्दा बढी रहेको तथ्यांक छ। यसका पछाडि स्वास्थ्यप्रति उनीहरूको लगाव नै प्रमुख कारक मानिन्छ। जति व्यस्त भए पनि उनीहरू आफ्नो स्वास्थ्यका लागि छुट्याउनुपर्ने समयमा कुनै सम्झौता गर्दैनन्। बालबालिका हुन् या वृद्धवृद्धा, सबैको दिनचर्यामा पार्कमा कसरत गर्ने, टहल्ने, हाइकिङ जाने, पौडी खेल्ने, खेलकूद लगायत शारीरिक अभ्यास अनिवार्य समावेश हुन्छ। यस्तो दिनचर्या बालबालिकाले अभिभावकबाटै अनुसरण गरेका हुन्छन्।
अर्को, चिनियाँ नागरिक बिहान ५-६ बजे उठेर मनतातो पानी पिउँछन्। केही बेर घर या पार्कमा व्यायाम गर्छन्। कम्तीमा एक घन्टा अभ्यासपछि चिल्लोपीरो अत्यन्त कम भएको खोले, फलफूल र ग्रीन-टी लिन्छन्। खाजा खाएको एक घन्टापछि फेरि मनतातो पानी पिउँछन्। मध्याह्न १२ बजे खानामा भात वा चाउचाउ लिन्छन्, जसमा कुखुरा र बंगुरको मासु अनिवार्य जस्तै हुन्छ।
उनीहरूको हरेक खानामा सागसब्जी, जडीबुटीका बोक्रा, गेडागुडी, बिरुवाका पात, मासु मिसाई उमालिएको सूप हुन्छ। स्थानीय सलादको प्रयोग असाध्यै गर्छन्।
दिउँसोको खानापछि केही बेर आराम गरेर पुनः मनतातो पानी पिउँछन्। अपराह्न ४ बजेअघि खाजाका रूपमा फिक्का चिया, कागती, चिया वा दूध र ब्रेड लिने गर्छन्। विशेष उत्सव बाहेक साँझको खाना ६ बजेभित्रै गरिसक्ने बानी हुन्छ। रातिको खानामा पनि बिहानको जस्तै परिकार हुने गर्छन्। त्यसमा थप, सुत्नुअघि एक गिलास दूध पिउँछन्। राति १० बजेभित्र शयनकक्षमा छिरिसकेका हुन्छन्।
सामान्यतः चिनियाँ पेयपदार्थ असाध्यै कम लिन्छन्। जमघटमा पनि मुश्किलले एक गिलास उठाउँछन् र बिस्तारै पिउँछन्। तर अन्य देशका नागरिकभन्दा हङकङवासीमा धूमपान गर्ने बानी बढी देखिन्छ। त्यसैले हङकङ सरकारले चुरोटको बट्टामै डरलाग्दा तस्वीर छाप्ने र जनचेतना अभियान सञ्चालन गरिरहन्छ।
यससँगै सरकारले हरेक वर्ष चुरोटमा कर बढाउँदै लगेको छ। अहिले २० खिल्ली भएको चुरोटको बट्टाको दुई हजार रुपैयाँ जति पर्छ। एक वर्षअघि एक हजार जति थियो।
हङकङमा रहेका नेपाली चिनियाँका धेरै बानी अनुसरण गर्न खोज्दैनन्। नेपालीले अनुसरण गर्ने एउटै बानी हो, चुरोट सेवन।
नेपालीको लापरवाह दैनिकी
हङकङमा अहिले करीब ५० हजार नेपाली बस्ने गरेको आकलन छ। हरेक वर्ष नेपालीको संख्या बढ्दै आएको छ। तर स्थानीयको तुलनामा नेपालीको जीवनशैली लापरवाह देखिन्छ। खानपान र व्यायामप्रति नेपाली समुदायले ध्यान दिएको देखिंदैन। अधिकांश नेपाली व्यायामलाई झन्झटिलो कार्यका रूपमा लिन्छन्।
प्रायः नेपालीको तर्क हुन्छ- दिनभर काम गरेपछि किन व्यायाम गर्ने? हङकङमा नेपालीको खानपानबारे अध्ययन गरेका डा. फानले व्यायाम अनिवार्य रहेको बताउँछन्। नेपालीले खाने गरिष्ठ भोजनलाई पचाउन नियमित काम गरेर मात्र नपुग्ने र व्यवस्थित व्यायाम आवश्यक पर्ने उनको भनाइ छ।
दिनभरि चर्काे गर्मीमा काम गर्ने र बेलुकी फर्किएर साथीभाइ र पार्टीहरूमा रमाउने नेपालीको बानी छ। अझ चिल्लो, पिरो र मसालेदार मासुसँग जाँडरक्सी मजाले पिउने दैनिकी सामूहिक चिनारी जस्तै बन्न पुगेको छ। अत्यधिक मासु सेवन स्वास्थ्यका निम्ति राम्रो मानिंदैन।
मेरा चिनियाँ साथीहरूको वेलाबखत व्यंग्यमिश्रित प्रश्न हुन्छ, “एक छाकका लागि हामीले २० डलरको मासु किन्दा नेपालीले २०० डलरको किन्छन्। नेपालीले के सारो मासु खान सकेको?”
सूप र सलाद पनि नेपालीले त्यति रुचाउँदैनन्। भात र मासुको झोल टन्न खाएपछि पुग्छ। त्यसैले त चिरिच्याट्ट परेका चिनियाँको भीडमा पनि प्रायः नेपाली चिनिन्छन्, पुक्क उठेको पेटले।
व्यायाममा पनि नेपालीले वास्ता गरेका हुँदैनन्। नेपालीका संस्थाले पनि त्यसमा ध्यान दिन सचेत गराउँदैनन्। हङकङमा नेपाली आबद्ध २०० भन्दा बढी संस्था छन्। बरु ती संस्थाले पार्टी आयोजना गर्छन्। त्यसमा रमाउने नेपालीको निद्रा मार्ने बानी पनि राम्रो मानिंदैन। पछिल्ला केही वर्षयता हाइकिङमा रुचि बढेको देखिए पनि बहुसंख्यक नेपालीले यसको महत्त्व बुझ्न सकेका छैनन्।
हङकङमा रहेका नेपाली धेरैजसो कन्स्ट्रक्शन, सेक्युरिटी र बारमा काम गर्छन्। उनीहरू दैनिक कम्तीमा १२ घन्टा ड्यूटी गर्छन्। रात्रिकालीन ड्यूटीमा केही बेसी तलब पाइने भएकाले नेपालीको रोजाइमा पर्छ। हङकङमा नेपालीले जेजस्ता श्रम गरिरहेका छन्, त्यसमा झन् बढी स्वास्थ्यचेत आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन्।
पछिल्लो समय बेलुका स्वस्थ सुतेका युवा-तन्नेरी पनि बिहान मृत भेटिने गरेका छन्। काम गर्दागर्दै ढलेका उदाहरण पनि छन्। हिंड्दाहिंड्दै, नाच्दानाच्दै ज्यान त्यागेका घटना पनि छन्। यो नियति जस्तै बन्न पुगेको छ।
हङकङ सरकारले सामाजिक सुरक्षा अन्तर्गत नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउँछ। यसमा नेपालीले रुचि देखाएको पाइँदैन। बरु नेपाल र भारतमा गएर स्वास्थ्य जाँच गराउने परिपाटी छ।
नेपालीले हङकङमा चिनियाँ भाषा सिके। उनीहरूका चाडमा उत्सव मनाउन सिके। चिनियाँ संस्कृति अनुसरण गर्न नयाँ वर्षमा ‘लाइसी’ (उपहार) दिन थाले। तर उनीहरू कसरी स्वस्थ जीवन बाँचिरहेका छन् भन्ने जान्न-बुझ्न खोजेनन्। हङकङको मौसमसँग सामञ्जस्य राख्ने खानपान र व्यायाम कति महत्त्वपूर्ण छ भन्ने बुझ्न चाहेनन्।
विदेशमा पनि नेपालीले शरीरका अवयवलाई नभई जिब्रोको स्वादका लागि मात्र खान सिके। ‘स्वस्थ रहे पो पैसाको अर्थ पनि रहन्छ, नत्र त्यो कागजको खोस्टो न हो’ भन्ने चिनियाँ मूलमन्त्र नै बुझ्न सकेनन्। त्यसैले होला, सहजै ८५ वर्षसम्म बाँच्न सकिने हङकङमा नेपालीले भने अल्पायुमै मृत्युवरण गरिरहेको खबर सुन्नुपरिरहेको छ।
(हङकङका सामाजिक संघसंस्थामा आबद्ध वनेम कानून व्यवसायी हुन्।)