रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।
तीनै आयोजनाबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ। यी आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।
१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करीब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ।
४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी मंसीर ७ बाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि साञ्जेन र रसुवागढीको व्यावसायिक विद्युत् उत्पादन शुरू हुनेछ। दुवै आयोजनाबाट यही महीनाभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ। नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँद याममा करीब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ।
चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा २७० मेगावाटका चार वटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी बाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन्। सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या लगायतले प्रभावित थिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए। “म चिलिमे कम्पनीको प्रबन्ध सञ्चालक भएका वेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रूपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागे पनि अब तीन वटा आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएको छ,” घिसिङले भने, “बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजीकै रहेका आयोजनाले हिउँद याममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्।”
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा वृद्धि भएको छ। माथिल्लो साञ्जेन र साञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक सात अर्ब ३५ करोड रुपैयाँ थियो। आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याज बाहेक आयोजनाको लागत नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताए।
सीईओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको बताए। चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो। माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ।