अमेरिकी प्रशासन सुधार्न ट्रम्पले रोजेका मस्क
मस्कले चुनावी अभियानमा प्रमुख आर्थिक सहयोगी बनेर र रामास्वामीले उम्मेदवारी फिर्ता लिएर ट्रम्प प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारीका लागि मार्गप्रशस्त गरिसकेका थिए।
अमेरिकी सरकारको आगामी प्रशासन हाँक्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले नवगठित सरकारी दक्षता विभाग (डीओजीई)को नेतृत्व एलन मस्कलाई सुम्पिएका छन्। विभागमा मस्कसँगै प्रख्यात बायोटेक उद्यमी विवेक रामास्वामी पनि सहभागी हुनेछन्। डीओजीईको नाम मस्कले समर्थन गर्दै आएको क्रिप्टोकरेन्सी डोजकोइनबाट प्रेरित छ। यो टोलीको लक्ष्य सरकारी प्रणालीमा व्यापक सुधार ल्याउनु रहेको बताइएको छ।
ट्रम्पको चुनावी अभियानमा प्रमुख आर्थिक सहयोगी रहेका मस्कले सरकारमा महत्त्वपूर्ण भूमिका पाउने अनुमान गरिंदै आएकै थियो। राष्ट्रपति पदमा रिपब्लिकन पार्टीकै तर्फबाट लड्ने तयारी गरेका रामास्वामीले पनि पछि उम्मेदवारी फिर्ता लिएर ट्रम्प प्रशासनमा नयाँ जिम्मेवारीका लागि मार्गप्रशस्त गरिसकेकै थिए।
मंगलबार साँझको घोषणामा ट्रम्पले डीओजीईको मुख्य उद्देश्य सरकारी खर्चमा कटौती, अनावश्यक नियमको खारेजी र संघीय निकायहरूको पुनःसंरचना रहेको बताए। यसलाई सरकारी कामकाजमा दक्षता बढाउने र नोकरशाहीतन्त्र घटाउने संयन्त्र पनि भनिएको छ। यद्यपि यो औपचारिक सरकारी निकाय होइन। अमेरिकामा संघीय निकाय स्थापना गर्न कंग्रेसको विशेष कानून आवश्यक पर्छ।
मस्क र रामास्वामीको टोलीले ह्वाइट हाउस र बजेट कार्यालयसँग मिलेर काम गर्नेछ। उनीहरूको प्राथमिकता सरकारी रकममा देखिंदै आएको वार्षिक ६.५ खर्ब डलरको अपव्यय र अनियमितताको अन्तर्य पत्ता लगाउनु हो।
मस्कले संघीय बजेटको एकतिहाइ अर्थात् कम्तीमा दुई खर्ब डलर कटौती गर्ने प्रस्ताव समेत अघि सारेका छन्। यसको विस्तृत कार्ययोजना भने सार्वजनिक गरिएको छैन। उनको अर्को महत्त्वाकांक्षी योजना विभिन्न संघीय निकायको खारेजी हो। यसको औचित्य जताउन उनले धेरैजसो एजेन्सीको काम दोहोरिएको तर्क अघि सारेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो यो अभियानलाई दोस्रो विश्वयुद्धकालीन म्यानहटन परियोजनासँग दाँजेका छन्, जुन विश्वको पहिलो परमाणु हतियार विकास गर्ने गोप्य सैन्य कार्यक्रम थियो। अमेरिकी सरकारी संरचनामा आमूल परिवर्तन ल्याउने भनिएको यो महत्त्वाकांक्षी परियोजनाको समयसीमा ४ जुलाई २०२६ को अमेरिकी स्वतन्त्रता दिवसलाई तय गरिएको छ। अमेरिकी स्वतन्त्रताको घोषणापत्रको २५० वर्षगाँठसँग जोडिएकाले यो मितिको विशेष महत्त्व छ। ट्रम्पले यसलाई राष्ट्रका लागि विशेष उपहारका रूपमा व्याख्या गरेका छन्।
मस्कले पनि प्रेस विज्ञप्तिमा भनेका छन्, ‘यो कार्यक्रमले सम्पूर्ण प्रशासनिक प्रणालीमा ठूलो हलचल ल्याउनेछ, विशेषगरी सरकारी स्रोतको दुरुपयोगमा संलग्न व्यक्तिहरूलाई प्रभावित पार्नेछ।’ सामाजिक सञ्जाल एक्समा उनले यो परियोजनालाई नोकरशाही विरुद्धको अभियानका रूपमा चित्रण गरेका छन्।
रामास्वामीले पनि यो कार्यभार पूरा नगरी पछि नहट्ने एक्समा लेखेका छन्। उनी नयाँ जिम्मेवारीप्रति कति दृढ देखिन्छन् भने आगामी उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो सिनेट सीटमा उम्मेदवारी दिने विचार पनि त्यागेको जनाएका छन्।
गत वर्ष राष्ट्रपति पदमा दाबी गर्दा रामास्वामीले संघीय सरकारका तीनचौथाइ कर्मचारी कटौती गर्ने र शिक्षा मन्त्रालय, संघीय अनुसन्धान ब्यूरो (एफबीआई) तथा मदिरा, सुर्ती र हातहतियार नियन्त्रण कार्यालय जस्ता निकाय खारेज गर्ने योजना अघि सारेका थिए।
निर्वाचन परिणाम आएयता मस्क र ट्रम्पको टोलीबीच सम्पर्क र समन्वय निकै बढेको छ। समाचार स्रोतहरूका अनुसार मस्क फ्लोरिडाको पाम बीचस्थित ट्रम्प निवासमा दैनिक उपस्थित भई विभिन्न योजनामा छलफल गरिरहेका छन्। उनको संलग्नता अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा समेत देखिएको छ। उनी हालै ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको टेलिफोन वार्तामा पनि सहभागी थिए। यी सबै घटनाक्रमबीच मस्कसम्बद्ध डिजिटल मुद्रा डोजकोइनको बजार मूल्यमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। एक सातायता यसको मूल्य लगातार उकालो लागिरहेछ।
राष्ट्रपति ट्रम्पले मंगलबार साँझ आफ्नो प्रशासनका मुख्य पदाधिकारी घोषणा गर्दा फक्स न्यूजका वरिष्ठ प्रस्तोता तथा युद्ध अनुभवी पिट हेग्सेथलाई रक्षा मन्त्रालय (पेन्टागन) र पूर्व कंग्रेसम्यान जोन र्याडक्लिफलाई केन्द्रीय गुप्तचर निकाय (सीआईए)को नेतृत्वका लागि प्रस्ताव गरेका छन्। इराक युद्धमा समेत खटिएका पूर्व सैनिक हेग्सेथ ट्रम्पका लामो समयदेखिका समर्थक हुन्। यद्यपि उनको सीमित सरकारी अनुभवका कारण यो नियुक्तिमा प्रश्न उठिरहेको छ।
सीआईए प्रमुखमा प्रस्तावित र्याडक्लिफ ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय खुफिया निर्देशकका रूपमा कार्यरत थिए जहाँ उनले समग्र अमेरिकी गुप्तचर संयन्त्रको निरीक्षण गरेका थिए। यस्तै, आन्तरिक सुरक्षा विभागको नेतृत्वका लागि साउथ डकोटाकी वर्तमान गभर्नर क्रिस्टी नोएमको नाम प्रस्ताव गरिएको छ।
(बीबीसीबाट)