साविक विजेता बंगलादेश विरुद्ध नेपालको शानदार जित
भारतमा जारी पाचौँ संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशलाई पराजित गरेको छ ।
भारतको कल्याणी रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बंगलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे । बंगलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानमा झरेको बंगलादेशले पनि तीन खेलबाट छ अंक नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।