एनआरएनभित्र दलहरू छिरे, संस्था बेकाम बनाइदिए
हरेक दलले आआफ्ना कार्यकर्ता छिराई राजनीति गर्न थालेपछि विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संगठन एनआरएनए अहिले आफ्नो मुद्दा पैरवी गर्न समेत नसक्ने गरी थला परेको छ।
प्रा.कटक मल्ल, अन्तर्राष्ट्रिय कानूनका ज्ञाता
कुनै पनि मुलुकमा एनआरएनए (गैरआवासीय नेपाली संघ) दर्ता हुनुपूर्व मैले स्वीडेनमा यो नामको संस्था दर्ता गराएको थिएँ। त्यसको दुई दिनपछि नै दुई वटा समूहमा झगडा हुन थाल्यो। गालीगलौजयुक्त इमेल आउन थाल्यो। त्यो मलाई सह्य भएन। म लगायत १०० जना एनआरएनएबाट अलग भयौं। त्यो दिनदेखि एनआरएनएमा मेरो संलग्नता छैन। एनआरएनको कुरामा म सन्तुष्ट छैन। यसको बदनाम भइरहेको छ। तर हामीले डायस्पोरिक शक्ति ठूलो हुन्छ भन्ने बिर्सनु हुँदैन। मैले स्वीडिश नागरिकता लिएको छु। नेपालमा तीन महीना बस्न ५० अमेरिकी डलर तिर्नुपर्छ। पछि एनआरएन कार्ड आयो। आफ्ना दुई जना बच्चाका लागि मैले डेनमार्कमा गएर १० वर्षअघि कार्ड बनाएँ। बच्चाहरू त्यो कार्ड देखेपछि एकदमै खुशी हुन्छन्। त्यो देख्दा मजा लाग्छ।
डायस्पोराबारे मेरो फरक मत छ। कसैको चित्त दुखाउने मेरो उद्देश्य होइन। कृपया यसलाई प्राज्ञिक अभ्यासका रूपमा हेर्नुहोला। एक पटक नेपाली सधैंको नेपाली भन्ने कुरा नागरिकताले मात्रै निर्धारण गर्दैन। यो वंशानुगत अनुभूति पनि हो। अर्को देशको नागरिकता लिएपछि कानूनतः त्यस देशप्रतिको जिम्मेवारी पनि सिर्जना हुन्छ। जस्तो, मैले स्वीडिश नागरिकको हैसियतले नेपालमा लगानी गरेमा यहाँको लगानीको कर स्वीडेनमा तिर्नुपर्छ। अरू देशमा के छ, मलाई थाहा छैन। तर एउटा कुरा के थाहा छ भने, कैयौं देशहरूको बीचमा बहुपक्षीय सन्धि भएको छ भने कर छली हु्न्छ। जस्तो, एनसेल नेपाल आउँदाखेरि नर्वे र नेपालको बीचमा कर छली भएको थियो। फिनल्यान्ड र स्वीडेनका कम्पनी नर्वे हुँदै त्यतिखेर नेपाल छिरेका थिए।
प्रा.कटक मल्ल ।
म को हुँ? नेपालमा लगानी गर्दा कहाँ कर तिर्छु? एनआरएनले इमानदारीसाथ भन्नुपर्छ। एनआरएनएमा यो उदारता आउनुपर्छ। प्लेटो, अरिस्टोटल, कार्ल मार्क्सदेखि वेदव्याससम्मले नागरिकतालाई राजनीतिक अधिकार हो भनेकै छन्। त्यसैले एनआरएनले पाउने दोस्रो नागरिकता नै हो। आजकाल नैतिक भूगोलको कुरा आइरहेको छ। साहित्यमा यसको ठूलो व्याख्या भइरहेको छ। नेपाली डायस्पोरा फैलिएसँगै नेपालको नैतिक भूगोलको दायरा पनि फैलिइरहेको छ।
कुनै पनि मुलुकले विदेशमा भएका आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्छ। नेपालका विपिन जोशीको इजरायलमा अपहरण भएको वर्ष दिन पुगिसक्यो। अहिलेसम्म नेपाल सरकारले हमासको नाममा कुनै वक्तव्य दिन सकेको छैन। त्यो नैतिक भूगोलको कुरा हो। इजरायल, रसिया, युक्रेनमा हाम्रो नैतिक भूगोल छ। वास्तवमा नेपालको आयतन बढिरहेको छ। यो कुरा हामीले बिर्सनु हुँदैन। तर अन्तिम कुरा के हो भने, व्यापारीले किन लगानी गर्छ? मायाप्रेमका लागि? नागरिकताका लागि? राष्ट्रियताका लागि? होइन। उसले जहाँ फाइदा देख्छ, त्यहाँ लगानी गर्छ। यो सत्यलाई सम्झिनुपर्छ।
अब मेरो सानो अनुभव सुनाउँछु। म एनआरएन नागरिकता लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय (सीडीओ) गएँ। मैले २०३२ सालमा नागरिकता काठमाडौंबाट लिएको थिएँ। जुन वेला बझाङबाट नागरिकता दिइँदैनथ्यो। यहीँबाट लिनुपर्थ्यो। काठमाडौं सीडीओको हाकिमले नागरिकता रद्द काठमाडौंबाट गरेर निकाल्न बझाङ जानुपर्छ भन्यो। त्यसपछि पुलिस रिपोर्ट ल्याउनुपर्ने भयो। मैले पुलिस स्टेशन गएर भनें, “म पहिला राजनीतिक अभियन्ता हुँदा जेल पनि परेको थिएँ। कस्तो रिपोर्ट दिनुहुन्छ? हेरेर दिनुहोला।”
रिपोर्ट लिन भोलिपल्ट बोलाइयो। मलाई पुलिस हाकिमकहाँ लिएर गए। ‘तपाईंले पहिले जेल परेको कुरा नभनेको भए दिइहाल्थ्यौं। अब त मिल्दैन।’ भने। यस्तो छ, हाम्रो प्रशासनतन्त्र।
दुर्गाप्रसाद भट्टराई, पूर्व परराष्ट्रसचिव
एनआरएनको विषय उठेपछि सूर्य सुवेदीको संयोजकत्वमा बनेको समितिमा म परराष्ट्र मन्त्रालयका तर्फबाट सदस्य थिएँ। समितिमा उदारतापूर्वक छलफल गरियो। कतिसम्म पर जाने भन्नेमा अरूको इतिहास, अनुभवबारे बुझियो। घरभित्रकै निजी क्षेत्रको कस्तो अवस्था थियो भन्ने पनि एनआरएनको नीति बनाउन हेरियो। त्यतिखेर दुई चीज गर्न सकेनौं। कानूनी व्यवस्था गर्दा राजनीतिबाट मुक्त हुनुपर्छ भनियो, जुन पछि भएन। अर्को, सरकारको दायित्व पनि राख्नुपर्थ्यो, राखिएन। नेपाली बाहिर गएर टन्न पैसा कमाएर ल्याउँछ र नेपालको विकासमा हाल्नुपर्छ भन्ने कोणबाट मात्र हेरियो। विदेशमा नेपालीले पाएको र पाउन सक्ने दुःखबारे राज्यको दायित्व कानूनमा बोलिएन। राज्यको भूमिका लोभीपापी हिसाबले आयो।
दुर्गाप्रसाद भट्टराई ।
ख्याल गर्नुपर्ने अर्को पक्ष छ। पहिलो पुस्ताको डायस्पोरा नेपाली नै हुन्। नेपालमा जन्मिएर केटाकेटीमै गएकाहरूको मन पनि नेपाली नै हुन्छ। एक पटकको नेपाली सधैंको नेपाली त भन्छौं, तर उतै जन्मिएकाका हकमा, खासगरी तेस्रो पुस्तामा पुगेपछि के हुन्छ? यसलाई हामीले श्रीलंकाको अनुभवबाट हेर्यौं। त्यहाँको विद्रोही एलटीटीईलाई तामिल डायस्पोराबाट पैसा आउँथ्यो। विद्रोहीले विलासी जीवन बिताउँथे। तर पछि श्रीलंकाको डायस्पोरा तेस्रो पुस्तामा पुगेपछि ‘म अमेरिकी नागरिक हुँ। मैले किन आतंककारीलाई पैसा दिने’ भन्न थाले। त्यसपछि पाँच वर्षमा ७० प्रतिशत आय घटेछ। यसैगरी आफ्नो उत्पत्तिको मुलुकसँग विच्छेद हुन्छ। उनीहरूलाई जोड्न भाषा, पर्यटन आदि मार्फत सकिन्छ कि भनेर छलफल गरेका थियौं। तर त्यत्तिकै भयो।
शुरूमा एनआरएनलाई गैरराजनीतिक नै बनाउने लक्ष्य थियो। विदेश जाँदा नेताहरूले आर्थिक स्रोत पनि हुने भएकाले यसलाई भ्रातृ संगठनका रूपमा विकास गराए। यो अपराध हो। एनआरएन विभाजित भयो भनियो। तर अहिले डाक्टर, इन्जिनीयर जस्ता पेशामा लागेकाहरू कति छन्? सूची हेरे हुन्छ। मेरो विचारमा यहाँको राजनीतिमा रुचि राख्नेहरूकै एनआरएनमा बाहुल्य हुनुपर्छ। उताको मानिसलाई नेपालको राजनीतिमा उक्लिने भर्याङ पनि बनाउन खोजिएको छ।
कर्मचारितन्त्रले काम गर्दैन भनिन्छ। सही हो। यो क्रम अझै बढ्छ। किनभने कर्मचारीमा दलहरूको भ्रातृ संगठन छ। आफ्नो दलको सरकार हुँदा भ्रातृ संगठनले किन काम गर्ने? अरूलाई काम लगाउने हो। अर्काले किन काम गर्छ? आफ्नो सरकार होइन, त्यो। त्यसैले नियम, कानून नापेर काम गर्नुपर्ने अवस्था सिर्जना भयो। कर्मचारी हावी भयो भनियो। हाम्रो संसद् कति कमजोर रहेछ भने अधिकार नै कर्मचारीलाई प्रत्यायोजन गरिएको छ। अधिकांश राजनीतिज्ञ आफू सही गर्न नपर्ने तर आफूले भने जस्तो मिलाएर कर्मचारीले गरिदिए हुन्थ्यो भन्ने खालका छन्। सबै कानून पूर्ण बनाउनुपर्नेमा पहिले अलिकति गरौं, पछि अरू बन्दै जान्छ भन्ने मानसिकता छ। राजनीतिक स्थिरता कहीं पनि हुँदैन। नीतिगत स्थिरता चाहिन्छ। त्यो एनआरएन नागरिकताको हकमा पनि लागू हुन्छ।
इन्द्र बन, नेपाली मूलकी अस्ट्रेलियन नागरिक
एनआरएनए पृथक् डायस्पोरिक संस्था हो। यसको पृथक् सम्पर्क छ। ८७ देशमा एनआरएन संगठित छन्। यो नेटवर्कबारे सोचौं। यो सञ्जालको सीप, स्रोत हेरौं। अर्बौंको स्रोत छ। शुरूआतका दिनमा एनआरएन राम्रो भयो, तर राजनीतिक दलहरूको प्रभाव पर्न थालेपछि बिग्रियो।
जहाँ बसे पनि देशको माया हामीलाई हुन्छ। नेपालमा केही भए हाम्रो मुटु रुन्छ। भुइँचालो गयो, हाम्रो मुटु रोयो। बाढी गयो, हाम्रो मुटु रोयो। हामीले एनआरएनका तर्फबाट ३७ करोड रुपैयाँ भुइँचालोको वेला उठाएर पठायौं। त्यो त एउटा शुरूआत मात्रै हो। नेपालका लागि भनेपछि जो जति वेला पनि सहयोग गर्न तयार हुन्छन्। तर यति शक्तिवान् संस्थालाई राजनीतिक रंग दिएर एकअर्कालाई लडाइयो।
इन्द्र बन ।
एनआरएन नागरिकताबाट म खास फाइदा देख्दिनँ, खुलेर भन्नुपर्दा। बाहिर बस्ने नागरिकलाई दोहोरो नागरिकताको मतलब पनि छैन। हामीलाई केही गर्नुपर्छ भन्ने बाध्यता पनि छैन। हामी बाँचेका छौं। आफ्नो देशको माया लागेर लौ न केही गरौं भन्ने स्वतस्फूर्त भाव मात्र हो।
नेपालमा पर्यटनको सम्भावना छ भनिन्छ। तर एनआरएनको कार्ड देखाउँदा किन लेमिनेट गरेको भनेर हैरानी दिइन्छ। कार्ड त परराष्ट्र मन्त्रालयले लेमिनेशन गरेर दिएको हो। नेपाल आउँदा त ‘हामी को हो, को हो’ जस्तो अनुभुति हुन्छ, राज्यको व्यवहारले। अनि नागरिकता लिएर के गर्ने?
वासुदेव घिमिरे, नेपाली मूलका अमेरिकन नागरिक
मेरी छोरीले विश्वप्रसिद्ध विश्वविद्यालयबाट ‘ग्य्राजुयट’ गरिन्। प्रख्यात विश्वविद्यालयबाट ‘ग्य्राजुयट’ गर्ने एनआरएन थुप्रै छन्। तर उनीहरूले नेपाल आएर कार्यालय सहयोगीको जागीर समेत खान नपाउने विडम्बनापूर्ण अवस्था छ। उनीहरूले नेपालमा कुनै योगदान दिन सक्दैनन्। यस्तो होनाहार एनआरएन नेपाल आए भने केही हुन्छ भन्ने आशा थियो।
वंशजको नागरिकता निरन्तर हुनुपर्छ भनेर मैले त ‘हाम्रो नागरिकता खोइ’ अभियान नै चलाइरहेको छु। एनआरएनको आवाज विभाजित भएर मात्र कमजोर भएको होइन। अहिले कोही राजनीतिज्ञको आलोचना गर्यो भने एनआरएनलाई थुन्न सक्ने कानून छ। एनआरएनले नेपालमा लगानी गरेको छ, सानोतिनो। नेपालको घरेलु उडानमा ऊ एनआरएन नेपालीको हैसियतमा हुन्छ।
वासुदेव घिमिरे ।
अब सम्भावना कुरा गरौं। यदि पाँच लाख एनआरएनलाई देशभित्र छिराउन सकियो र एक जनाले पाँच हजार डलर मात्र ल्यायो भने २४ खर्ब रुपैयाँ पूँजी आउँदो रहेछ। त्यसबाट २० लाख नेपालीलाई जागीर र उनीहरूलाई ४० अर्ब रुपैयाँ तलब दिन सकिंदो रहेछ। अब हामी उताबाट अवकाशपछि आयौं भने दुई खर्ब रुपैयाँ नेपालमा मासिक आउँदो रहेछ।
म नेपालमा पनि रेस्टुरेन्ट चलाइरहेको छु। गल्ती नगरी काम गरेका छन् भने कर्मचारीले विना लगानी २० प्रतिशत शेयर पाउँछन्। यस्तो व्यावसायिक लक्ष्य सहित हामी आएका छौं। तर नेपालको कानून हामी अनुकूल नहुँदा धन र बुद्धि भएकाहरू देश छोडेर जाँदै छन्। यो कहालीलाग्दो छ।
पुरञ्जन आचार्य, राजनीतिज्ञ
भारतीय पत्रकार मार्क टेली आफ्नो पुस्तक ‘इन्साइड द थट’ मा भन्छन्, ‘यो देश कामै नलाग्ने देश हो, यो पनि सत्य हो। यो देश सम्भावना नै सम्भावना भएको देश हो, यो पनि सत्य हो। यो देशमा लुटेरा मात्र बस्छन्, यो पनि सत्य हो। यो देशमा पुजारी मात्र बस्छन्, यो पनि सत्य हो।’
उनले त्यो कुरा यूरोपका प्रसिद्ध लेखक चार्ल्स डिकेन्सनबाट लिएका रहेछन्। चार्ल्सले बेलायत र फ्रान्सको क्रान्ति हुनुभन्दा पहिलेको वातावरण देखेर लेखेका छन्, ‘हाम्रो अगाडि अपार सम्भावना नै सम्भावना छ। हाम्रो अगाडि अन्धकार नै अन्धकार छ। हाम्रो अगाडि अवसर मात्र होइन, स्वर्गै स्वर्ग छ। हाम्रो अगाडि नर्क नै नर्क छ।’ चार्ल्सले पनि यो कुरा उपनिषद्बाट ल्याएका रहेछन्। तमसोर्मा ज्योतिर्गमयबाट ल्याएका रहेछन्।
पुरञ्जन आचार्य ।
एनआरएन हो वा गैरएनआरएन जो भए पनि यो देशलाई हेर्ने दृष्टिकोण चाहिं टेली, डिकेन्सन वा उपनिषद् जस्तै हुनुपर्छ। खराब खोज्यो खराबै देखिन्छ। राम्रो खोज्यो राम्रै। एनआरएनले नागरिकता पाउनुपर्छ भनेर यहाँ कुरा चलिरहँदा म मुसहर, बातरले नागरिकता पाउनुपर्छ भनेर सीडीओ कार्यालय घेर्दै थिएँ। उनीहरूको १०औं पुस्ता यहाँ बसेको थियो, तर नागरिकता पाएका थिएनन्। त्यहीँ मैले पहिलो पुस्ताका मारवाडीले नागरिकता पाएको देखें।
म गिरिजाप्रसाद कोइरालाको सहयोगी थिएँ। २०५४, २०५५, २०५६ र २०५८ सालमा प्रधानमन्त्री कोइरालासँग अमेरिका जाँदा के थाहा पाएँ भने, संयुक्त राष्ट्रसंघको भवनको तल जहिल्यै तीन वटा समूह विरोधका लागि बसिरहेका हुन्थे, फलस्तीनी, तिब्बती शरणार्थी र नेपाली। बेल्जियमको ब्रसेल्समा नेपालीले कालो झन्डा देखाएर निस्किनै दिएनन्। फ्रान्समा त्यही हालत भयो। दोहामा आउँदा वरतिर जय नेपाल पुस्तक पसल थियो, परतिर प्रगतिशील पुस्तक पसल। राजनीतिक रूपमा एनआरएनहरू पहिल्यैदेखि यस्तै विभाजित नै हुन्।
यद्यपि हरेस खान हुँदैन। अपार सम्भावना छ। गुरुचरण दासले भनेका छन्, सरकार सुतेको वेला भारतले प्रगति गर्छ। नेपालमा पनि यही हो।
इन्द्र अधिकारी, सुरक्षा विश्लेषक
नेपाली समाजको चरित्र जस्तो छ विदेशमा रहेका नेपालीको चरित्र पनि उस्तै छ। प्रशासनिक बाटोबाट राजदूत भएका (करिअर डिप्लोम्याट)हरूमा खिचातानी नभए पनि राजनीतिक नियुक्तिवालाले दलीय भ्रातृ संगठनको आआफ्नो दोकान खोल्दा रहेछन्। जाने बित्तिकै नेपालीबाट नै खुट्टा तानातान हुँदो रहेछ। नेपाली डायस्पोराले राजदूतलाई समस्यामा पार्दा रहेछन्।
इन्द्र अधिकारी ।
एकफेर एनआरएनएको निर्वाचन हेर्न पाएको थिएँ। एमाले–कांग्रेस भनेर प्रतिस्पर्धा हुँदो रहेछ। राजनीतिक दलहरूको भ्रातृ संगठन भएपछि आफ्ना पार्टीहरूलाई सहयोग गर्छन्। नेपाली डायस्पोरा अब राजनीतिक भइसक्यो।
विपिन अधिकारी, वरिष्ठ अधिवक्ता
विपिन अधिकारी ।
एनआरएनले पाउने दोहोरो नागरिकताको विषय हुँदै होइन। विदेशी नागरिकता लिइसकेका नेपालीहरूले यहाँको नागरिकताको निरन्तरता रहिरहोस् भन्ने अपेक्षा गर्नु हुँदैन। एनआरएनको नागरिकताको समस्या संविधानको समस्या होइन। संविधानको मस्यौदामा नेपाली मूलको शब्द थियो, शुरूमा। पछि नेपाली नागरिक बनाइयो। किन होला? हामी बुझ्न सक्छौं, त्यतिसम्म खुला थियो।
एनआरएनले नेपालमा काम गरिरहेको छ भने देखिनुपर्यो। यो देश कसरी एनआरएनका कारण रूपान्तरण भइरहेको छ भन्ने कुरा आउनुपर्यो। यस्तो सकारात्मक पक्ष हामीले देखाउन सकेका छैनौं।
(हिमालखबरले असोज १० गते एनआरएनबारे आयोजना गरेको ‘समाज र अर्थतन्त्र : दोहोरो नागरिकताका सम्भावना’ विषयक अन्तरक्रियामा व्यक्त विचारका सम्पादित अंश।)
हेर्नुहोस् अन्तरक्रियाको भिडिओ:
हिमालको ‘ग्लोबल नेपाली विशेष’ अन्तर्गतका थप सामग्री :