आइएमई ग्रूपद्वारा बाढीपीडितका लागि पाँच करोड सहयोग
बाढीपहिरो पीडितको सहयोगका लागि ग्लोबल आइएमई ब्यांक सहित आइएमई ग्रूपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ प्रदान गरेको छ।
ग्लोबल आइएमई ब्यांक एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रु. पाँच करोडको चेक हस्तान्तरण गरेका छन्। त्यसमा ग्लोबल आइएमई ब्यांकको चार करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख रुपैयाँ रहेको आइएमई ग्रूपले जनाएको छ।
हालै आएको बाढीपहिरोबाट प्रभावितलाई सहज जीवनयापनमा सघाउन आईएमई ग्रूपले कोषमा रकम जम्मा गरेको अध्यक्ष ढकालको भनाइ छ। यसअघि पनि ग्रूपले सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
सहयोग हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रूपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य सहभागी थिए।