भ्याली टेनिसमा कमल थापाले जिते दुई उपाधि
बीवाईडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा कमल थापाले दुई वटा उपाधि जितेका छन्।
राप्रपा नेपालका अध्यक्ष थापाले आइतबार ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएका भेट्रानतर्फका दुई वटा स्पर्धामा उपाधि जितेका हुन्।
उनले ५५ वर्षभन्दा माथिको पुरुष एकलतर्फ मनोजविक्रम शाहीलाई पराजित गरेका हुन्। उनी ६-४ र ७-५ को सेटले विजयी भए।
त्यस्तै, ६५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको प्रतिस्पर्धामा ध्रुव गुरुङलाई पराजित गर्दै उपाधि जितेका छन्। थापाले गुरुङसँगको खेल ६-३ र ६-० को सेटले जितेका हुन्।
यसैगरी, ४५ वर्षमाथिको पुरुष एकलतर्फ रोहित सुनुवारलाई पराजित गर्दै कमलबहादुर भण्डारी विजयी भएका छन्।
त्यस्तै, ३५ वर्षमाथिको पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडी विजयी भएको छ। उनीहरूले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका थिए।
६५ वर्षमाथिको पुरुष डबल्समा मनोजशमशेर जबरा र ध्रुव गुरुङको जोडीले उपाधि जितेको छ। उनीहरूले विनोद विष्ट र भिक्टर रानाको जोडीलाई पराजित गरेका हुन्।
यसैगरी, ४५ वर्षमाथिको पुरुष डबल्समा रोहित सुनुवार र हिमाल शाहीलाई पराजित गर्दै देवेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी विजयी भएको छ। ५५ वर्षमाथिको पुरुष डबल्समा मनोजशमशेर जबरा र देवेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै उत्तम के शेर्पा र चन्द्र शाहीको जोडी विजयी भएको छ।
यस्तै, पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी विजयी भएको छ। उनीहरूले प्रणव खनाल र सक्षमबहादुर शाहीको जोडीलाई पराजित गरेका हुन्।
नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकैमा क्याफेको सहयोगमा हिमालमिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो। असोज ७ गते शुरू भएको प्रतियोगिता असोज १४ गते सम्पन्न हुनेछ।