भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारबाट
बीवाईडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानका विभिन्न उमेर समूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले बताए। भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछन्।
सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशि पाँच लाख ७६ हजार रुपैयाँ छ।
पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ४० हजार, २० हजार र १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, ३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार ५०० रुपैयाँ र तेस्रो हुने दुई खेलाडीले ६/६ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। ४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्समा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले चार हजार ५०० रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन्।
यसैगरी, ५५ वर्षमाथि प्रथमलाई १५ हजार, द्वितीयलाई सात हजार ५०० रुपैयाँ र तृतीय हुने दुई खेलाडीलाई तीन हजार ५०० रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ। ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुने दुई जनालाई तीन हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकैमा क्याफेको सहयोगमा हिमालमिडिया प्रालिले आयोजना गर्न लागेको प्रतियोगितामा १३९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन्।