हङकङका नेपालीलाई चीन घुम्न राहदानी पनि नचाहिने
हङकङमा रहेका नेपालीले पनि राहदानी विना नै चीन घुम्न पाउने भएका छन्।
हङकङ सरकारले १० जुलाईमा विदेशी राहदानी बोकेका तर हङकङको पीआर (स्थायी बसोबास) लिएका नागरिकलाई ‘मेनल्यान्ड ट्राभल कार्ड’ दिने घोषणा गरेपछि यो कार्ड बनाउन गैरचिनियाँ हङकङवासी निकै दौडधूप गरिरहेका देखिन्छन्। यो कार्ड बनाउन सबैभन्दा बढी अग्रसर हङकङमा व्यापार-व्यवसाय गरिरहेका भारतीय र पश्चिमा व्यापारी देखिन्छन्।
पाँच वर्षका लागि दिइने यो ‘डिजिटल कार्ड’ मा व्यक्तिका सबै विवरण संगृहीत हुन्छन्। कार्ड बोकेपछि राहदानी समेत बोक्नुनपर्ने बताइएको छ। कार्डवाहकले एक पटकमा ९० दिनसम्म चीनका शहर भ्रमण गर्न पाउनेछन्।
यो सुविधा हङकङमा स्थायी बसोबास गरिरहेका नेपालीले पनि उपभोग गर्न पाउनेछन्। तर यो कार्ड बनाउने जागरूकता अन्य गैरचिनियाँ जतिको नेपालीमा देखिँदैन।
हालसालै नेपाली समुदायबाट पहिलो पटक ‘डिस्ट्रिक्ट काउन्सिलर’ चयन भएकी अरुणा गुरुङ भन्छिन्, “हाम्रा मान्छे व्यवसायमा नभएका कारण पनि होला, कतिपयले यो कार्डको महत्त्व राम्ररी बुझ्न सकेका छैनन्। तर अन्य समुदायका व्यवसायीले त मैले कहिले पाउँछु भन्दै घरीघरी फोन गरिराख्नुहुन्छ।”
हङकङ चीनको स्वशासित शहर भए पनि मेनल्यान्ड (हङकङ र मकाउ बाहेकका चीनका शहरलाई जनाउँछ) भन्दा छुट्टै कानून लागू हुन्छ। साथै हङकङको मुद्रा समेत छुट्टै छ। एउटै देश भए पनि मेनल्यान्डका बासिन्दा हङकङ त्यत्तिकै छिर्न पाउँदैनन् भने हङकङका बासिन्दा पनि मेनल्यान्डभित्र सहजै प्रवेश पाउँदैनन्।
त्यसका निम्ति दुवैतर्फकाले केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यो कार्डले त्यो प्रावधानमा सहजता थपिदिएको छ।
काउन्सिलर गुरुङको भनाइमा यो कार्ड हुँदैमा मेनल्यान्डमा गई पढ्ने, नोकरी गर्ने र व्यवसाय गर्न पाइने त होइन, तर ‘इम्पोर्ट-एक्सपोर्ट’ व्यवसायमा संलग्न व्यापारीलाई सजिलो हुने भएकाले यसको असाध्यै महत्त्व देखिन्छ। गुरुङ भन्छिन्, “यो कार्ड भएका व्यक्तिलाई अध्यागमनमा विशेष ग्राह्यता दिइन्छ। त्यहाँ लाइन लाग्नु पर्दैन। फर्म भर्नु पर्दैन।”
अहिलेसम्म हङकङवासीलाई मेनल्यान्डमा प्रवेश गर्न एक हजार २०० हङकङ डलर तिरेपछि तीन वर्षको मल्टिपल भिसा दिइन्थ्यो, जुन राहदानीसँगै बोक्नुपर्थ्यो। तर मेनल्यान्ड ट्राभल कार्ड २६० हङकङ डलरमा बनाउन पाइन्छ र यसको आयु पाँच वर्षको हुन्छ।
त्यसमाथि अध्यागमनको झन्झटबाट मुक्ति मिल्छ। तपाईं हङकङबाट मेनल्यान्ड चीनको सिमानामा पुग्नुहोस्, कार्ड ट्याप गर्नुहोस् र भित्र छिर्नुहोस्।
हङकङबाट मेनल्यान्ड चीनमा प्रवेश गर्न केही समययता सञ्चालनमा आएको ‘फास्ट ट्रेन’ र यो कार्डले आवागमनमा झन् सहज बनाइदिएको गुरुङ सुनाउँछिन्।