युवाको निराशा झल्काउने ‘साहिंला दाइ’
युवापुस्तामा देखिएको निराशा झल्काउने गीत ‘साहिंला दाइ’ सार्वजनिक भएको छ।
गीतकार शिवराज योगीले रचना गरेको यो गीतमा भीम बीसीले संगीत भरेका छन्। यसअघि यो जोडीले ‘ऐना हेरी हेरी’ बोलको गीत ल्याएका थिए।
माओवादी सशस्त्र द्वन्द्व सकिएपछि आशावादी बनेका नागरिक राजनीतिक खिचातानीले निराश भएको अवस्था गीतमा चित्रण गरिएको गीतकार योगीले बताए। त्यसलाई गीतमा यसरी व्यक्त गरिएको छ :
खोर्सिंदैमा साहिंली दिदी जिन्दगी खिइगयो
व्यवस्थाले साहिंली दिदी आश मात्रै दिइगयो
पीरैपीरकै भीर...
यसमा गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले स्वर दिएका छन्। सुदूरपश्चिमको कञ्चनपुरकी विश्वकर्माले नेपाल आइडलको पाँचौं शृंखलामा गोल्डेन माइक पाएकी थिइन्। धनगढीका रैका भने दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन्।
गीतको भिडिओमा क्रिस बम र निरुता विष्टले अभिनय गरेका छन्। हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिंला दाइ’ गीतको भिडिओको निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन्। प्रकाश खडकाले खिचेको भिडिओको सम्पादन मीन रावलले गरेका छन्।
विश्व अधिकारीको एरेन्ज, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडिओको मिक्सिङ कुमार रानाले गरेका हुन्। यो गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।