आज पनि बुटवलदेखि कोहलपुरसम्म ठप्प
संविधान संशोधन विधेयकको विरोधमा हिजो १ पुसदेखि पुनः शुरु भएको आन्दोलनले गर्दा रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, रुकुम, रोल्पा, अर्घाखाँची, बाँके लगायतका जिल्लाका प्रमुख शहर बजार र राजमार्ग ठप्प छन् ।
रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गीया बजार खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् । अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेका छैनन् ।
आन्दोलनको केन्द्रविन्दु बुटवलका चोकचोकमा संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले पदर्शन गरेका छन् । आन्दोलनमा उत्रेका युवाले रातभर पनि सडकमा नाच्ने गाउने र प्रदर्शन गरेर अवरोध गरेका थिए । आमहडतालका कारण संघसस्था,उद्योग व्यवसाय पनि ठप्प छन् ।
सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी संचारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् ।
आन्दोलनका कारण पाल्पा, गुल्मी, अर्घाखांची, रुकुम, रोल्पा लगायतका जिल्लाहरु पूर्ण प्रभावित छन् । हिजो झडप भएको गुल्मी आज झन बढी ठप्प छ ।
रोल्पा र प्यूठान तेस्रो दिन बन्द
संविधान संशोधन मार्फत ५ नं. प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग बनाउन लागिएको विरोधमा रोल्पा र प्यूठान तीन दिनदेखि पूर्ण रुपमा ठप्प छन् ।
सवारी साधनहरु नचल्दा यात्रुलाई हिँडेरै गन्तव्यमा पुग्नु परेको छ ।
काठमाडौं लगायतका स्थानबाट आउन लागेका बसहरु प्यूठानको बड्डाँडा, चकचके, विजुवार, बाग्दुला लगायत क्षेत्रमा रोकिएका छन् । दुवै जिल्लाको संयुक्त संघर्ष समितिले बन्दको आव्हान गरेको हो ।
उद्योग व्यवसायीहरु व्यवसाय बन्द गरेर सडकमा उत्रिएका छन् । बड्डाँडा, बाहाने, जुम्रि, विजुवार, बाग्दुला, भिंगृ, खलंगामा स्थानीयले विहानैदेखि प्रदर्शन गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनले जनताको आवाज सरकारले नसुनेकाले बाध्य भएर बन्द आव्हान गर्नु परेको नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले बताए ।
निजी विद्यालय, होटल, स्वास्थ्य संस्था तथा औषधि पसलहरुलाई बन्दमा रोक नलगाइएको भए पनि कतिपय संस्थाहरु स्वतः बन्द भएको उनले बताए ।
सरकारी विद्यालयमा परीक्षा निर्वाध
यतिवेला सरकारी विद्यालयहरुमा अर्धबार्षिक परीक्षा संचालन भैरहेको छ । बन्दको आव्हान गरिए पनि सरकारी विद्यालयहरुमा परीक्षा चलिरहेकाले यसलाई बाधा गरिएको छैन् । कतिपय नीजि विद्यालयहरु भने बन्द छन् ।
दीपक ज्ञवाली, बुटवल/ विजयसिंह भारती, प्यूठान/ प्रेम आचार्य, अर्घाखाँची