तीन गुणा बढ्यो बिजुलीको खपत
मुलुकबाट अधिकांश स्थानमा लोडशेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि पछिल्लो आठ वर्षमा विद्युत् खपत तीन गुणा बढेको छ।
आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा बढेर आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। लोडशेडिङ कायम रहेका वेला विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो।
गत वर्ष सबैभन्दा बढी गार्हस्थ्यतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ। बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ।
आठ वर्षअघि वर्षा याममा समेत दैनिक आठ घन्टा लोडशेडिङ भएको थियो। हिउँदमा दैनिक १४ घन्टासम्म लोडशेडिङ गर्नुपर्ने प्रक्षेपण थियो। २०७३ सालको कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख शहरका गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडशेडिङ अन्त्य गरिएको थियो। २०७५ वैशाखबाट सिंगो मुलुक लोडशेडिङमुक्त घोषणा गरिएको थियो।
आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ। विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेका छन्। आठ वर्षअघि विद्युत्का ग्राहक करीब ३० लाख रहेकामा हाल सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला तथा साना उद्योगले निरन्तर विद्युत् आपूर्ति पाइरहेको र यस अवधिमा उद्योगको धेरै लोड स्वीकृत गरिएको बताए। उनले खाना पकाउने लगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढेको एवं विद्युतीकरण व्यापक रूपमा गरिएको बताए।
“हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख शहरमा सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ,” घिसिङले भने।
गत वर्ष पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११.३४ प्रतिशत बिन्दुले वृद्धि भएको थियो। गत आर्थिक वर्षको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो। उक्त दिन पिक डिमान्ड दुई हजार २१२ मेगावाट पुगेको थियो।
वर्षा यामका ६ महीना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत आयोजनाको विद्युत् उत्पादन घटी केही महीना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ। तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण घट्दै गएको छ। गत आर्थिक वर्षमा प्रणालीमा आयातीत ऊर्जाको हिस्सा १४.६८ प्रतिशत थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५७ प्रतिशत बिन्दुले कम हो। विद्युत् निर्यात ४४ प्रतिशत बिन्दुले वृद्धि भएको छ।
गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो। तर यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो। गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खूद विद्युत् आयातकर्ताबाट नेपाल खूद विद्युत् निर्यातकर्ता बनेको थियो।