भूटानी राजबन्दी राईलाई अन्तर्राष्ट्रिय अभियानको सहयोग
भूटानमा तीन दशक थुनामा रहेर हालै झापाको बेलडागी शरणार्थी शिविरमा फर्किएका रामबहादुर राईलाई बाहिरी मुलुकमा रहेका शरणार्थी समुदायका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ।
नेदरल्यान्ड्सस्थित भूटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले भूटानको चेम्गाङ केन्द्रीय कारागारमा ३१ वर्ष १० महीना जेलजीवन बिताएर फिरेका राईलाई सहयोग गरिएको हो। विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको एक लाख ४० हजार रुपैयाँ झापाको दमकस्थित बेलडाँगी शिविरमा राईलाई प्रदान गरिएको छ।
अभियानका संयोजक राम कार्कीको पहलमा संकलित रकम शिविरका सचिव सञ्चहाङ सुब्बाले राजबन्दी राईलाई हस्तान्तरण गरेका हुन्। यसअघि अमेरिकाको पेन्सिल्भेनियामा रहेका शरणार्थी समुदाय र अभियन्ता विश्वनाथ क्षेत्रीले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए। क्षेत्री भूटान विद्यार्थी संघका संस्थापक अध्यक्ष एवं तत्कालीन आस्थाका बन्दी हुन्।
सन् १९९४ सम्म बेलडाँगीस्थित शिविरमै रहेका राई राजनीतिक पर्चा बोकेर भूटानको गेलेफु पुगेका वेला पक्राउ परेका थिए। त्यसपछि लगातार ३१ वर्ष १० महीना चेम्गाङ जेलमा थुनामा परेर राई एक महीनाअघि बेलडाँगी शरणार्थी शिविर आएका हुन्।
उनका दुई छोरा पुनर्वासमा विदेश गएका छन्। श्रीमतीको निधन भइसकेको छ। शिविरमा छोरीज्वाइँका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई बसोबासमा टहरो उपलब्ध गराउन र भूटानमा अझै थुनामा रहेका ३५ भन्दा बढी राजबन्दीलाई विना शर्त थुनामुक्त गराउन अन्तर्राष्ट्रिय समुदायको थप पहल जरूरी रहेको शिविरका सचिव सुब्बाले बताए।
राजबन्दी रिहाइ अभियानका संयोजक कार्कीले भूटानी जेलमा रहेका सबै राजबन्दी सकुशल रिहा नहुन्जेल यो अभियान नरोकिने बताए।
सहयोग हस्तान्तरण कार्यक्रममा अर्का राजबन्दी मधुकर मगर र डीबी राई तथा शरणार्थी प्रतिनिधि डीबी सुब्बा, वीरेन मगर लगायतको उपस्थिति थियो।
यो पनि पढ्नुहोस् :