अन्नपूर्ण क्षेत्रमा लेक लागेर वर्ष दिनमा २१ पर्यटकको मृत्यु
पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा एक वर्षमा लेक लागेर २१ पर्यटकको मृत्यु भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार मृत्यु भएकामध्ये ६ जना नेपाली छन्। त्यस्तै, भारतका ११, मलेशियाका दुई, युक्रेन र बेलायतका एक-एक जनाको मृत्यु भएको आयोजना प्रमुख रविन कडरियाले बताए।
उनका अनुसार लेक लाग्ने अधिकांश घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्। हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ। एकै पटकमा उचाइमा पुग्दा लेक लाग्ने समस्या आउने गरेको छ।
यस्तै, एक वर्षमा पदयात्राका क्रममा लडेर तीन विदेशी पर्यटकको मृत्यु भएको छ। कास्कीमा स्वीडेन र जर्मनका तथा मनाङमा अमेरिकाका पर्यटकको मृत्यु भएको आयोजना प्रमुख कडरियाले बताए।
मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्वीडिश नागरिकको सात महीनापछि अवशेष भेटिएको थियो। “लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै जानु हुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिंड्नुपर्छ,” उनले भने।
अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार १८० विदेशी पर्यटकले घुमफिर गरेका छन्। जसमध्ये एशियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक छन्।
सबैभन्दा बढी गत चैतमा ३५ हजार २६५ र सबैभन्दा कम साउनमा पाँच हजार ४०१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ५० हजार पर्यटक थपिएको उनले बताए।