मूल्यवृद्धि दर ३४ महीनायताकै न्यून, खाद्यवस्तुको भाउ उच्च
असारमा बजारको मूल्यवृद्धि दर पछिल्लो तीन वर्षयताकै न्यूनमध्ये एक भएको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
गएको असारमा मूल्यवृद्धि दर ३.५७ प्रतिशतमा ओर्लिएको छ। यो २०७८ असोजयताकै सर्वाधिक थोरै मूल्यवृद्धि दर हो। २०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि लगातार उकालो लागेको थियो। यसबीचमा मूल्यवृद्धि दर बढेर २०७९ भदौमा ८.६४ प्रतिशतसम्म पुगेको थियो।
पछिल्लो एक वर्षयता लगातार मूल्यवृद्धि दर घटिरहेको छ। नेपालले अधिकांश वस्तु आयात गर्ने भारतमा मूल्यवृद्धि दर घटेकाले तथा बजारमा वस्तु र सेवाको मागमा आएको कमीले मूल्यवृद्धि दर घटेको अनुमान गरिएको छ।
राष्ट्र ब्यांकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.४४ प्रतिशत छ। वर्षभरिको १२ महीनाको मूल्यवृद्धि दर हिसाब गरेर वार्षिक औसत मूल्यवृद्धि दर निकालिन्छ। अघिल्लो वर्ष २०७९/८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत थियो।
गत वर्ष समग्रमा मूल्यवृद्धि दर घटेको देखिए पनि खाद्य तथा पेयपदार्थ समूहको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ६.४७ प्रतिशत छ। यसले खाद्य वस्तुको मूल्यवृद्धि दर उच्च रहेको देखाउँछ।
गत आवमा मरमसलाको मूल्यवृद्धि सबैभन्दा धेरै २६.४ प्रतिशत पुगेको छ। दाल तथा गेडागुडीको मूल्य ९.९६ प्रतिशतले, चिनी तथा चिनीजन्य वस्तुको मूल्य ९.८७ प्रतिशतले, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ९.८५ प्रतिशतले र तरकारीको ८.२९ प्रतिशतले बढेको छ। खाद्य वस्तुमा भएको यस्तो मूल्यवृद्धिको मारमा न्यून आय भएका समूह पर्ने गर्छन्।
नेपाल जीवनस्तर सर्वेक्षण (चौथो)का अनुसार नेपालमा पाँचमध्ये एक नेपाली निरपेक्ष गरीबी अर्थात् रकम अभावका कारण पुग्दो खाना खान नपाउने स्थितिमा छन्। खानेकुरा महँगो हुँदा उनीहरूको स्थिति थप बिग्रिन्छ।
यद्यपि गत वर्ष घ्यू, तेलको मूल्य करीब ११ प्रतिशतले घटेको छ।
गत वर्ष मनोरञ्जन तथा संस्कृतिको मूल्य १०.९६ प्रतिशत, शिक्षाको मूल्य ७.७३ प्रतिशत, फर्निशिङ तथा घरायसी उपकरणको मूल्य ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलको मूल्य ४.५६ प्रतिशतले बढेको छ।
गत आव २०८०/८१ मा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ६.८६ प्रतिशत छ। त्यसैगरी, काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत र पहाडको ५.७८ प्रतिशत छ।
गत आव २०८०/८१ मा वार्षिक औसत तलब तथा ज्यालादरको मूल्य ५.०९ प्रतिशतले बढेको छ। यसले बजारको मूल्यवृद्धिका तुलनामा ज्याला र तलबको वृद्धिदर थोरै रहेको देखाउँछ।