संस्कृति चिन्तनका सुस्केरा
पूँजीवादका घातक नंग्राले वातावरण र पर्यावरणलाई चिथोर्दा प्राणीजगत् नै त्रासदीमा रहेकाले खबरदारी गर्दै गुप्तोले आफूलाई पर्यावरणप्रेमीको कित्तामा उभ्याएका छन्।
अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो विशेषतः नेपाली संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका छन्। गडेश अफ काठमान्डू भ्याली पुस्तक मार्फत नेपाली संस्कृतिको अध्ययनमा आफूलाई दाखिल गराएका गुप्तो पत्रपत्रिका मार्फत पनि पाठकसँग गफिंदै आएका छन्।
प्राध्यापक गुप्तोले हालसालै संस्कृति चिन्तन निबन्ध संग्रह बजारमा ल्याएका छन्। यस पुस्तकमा गुप्तोले वर्चस्वशाली संस्कृतिले नेपाली सभ्यता र संस्कृतिको जग बसाएको छ भन्ने वैचारिकीलाई भत्काउँदै जनीय अर्थात् सबाल्टर्न समूहको सांस्कृतिक इतिहासको भूमिकाको महत्ता स्थापित हुनुपर्छ भन्ने मान्यतालाई जोड दिएका छन्।
सभ्यताको विकासमा साहित्य र संस्कृतिको परिपूरक सम्बन्ध रहेको हुन्छ। त्यसलाई वर्चस्वशाली समूहले अझ बढी मजबूत बनाउँछ, जसका कारण वर्गमा आधारित समाजको निर्माण हुन्छ। सत्ता संरक्षणबाट एकातिर उन्नत भनिने समुदाय अर्थात् नश्लीय संस्कृतिको उन्नति हुन्छ भने अर्कातिर सबाल्टर्न अर्थात् राज्यको मूलधारबाट बाहिर पारिएकाहरूको संस्कृति पिंधमा पारिएको हुन्छ भन्ने तर्क नै गुप्तोका निबन्धको मूल मर्म हो।
नश्लीय नायकहरूले आफू अनुकूल समाजको निर्माणका लागि नायक-खलनायकका सम्बन्धलाई मजबूत बनाउन मिथकीय पात्र मार्फत अभिव्यक्त गरेका हुन्छन्। तिनै मिथकबाट पिंधमा पारिएकाहरूको इतिहासको खोजी गर्नुपर्छ भन्ने कोणमा सबाल्टर्न सिद्धान्तले बहस छेडेको छ। विशेषतः भारतमा रोमिला थापर, गायत्री चक्रवर्ती स्पिभाक, रञ्जित गुहा जस्ता विचारकले इतिहासलाई फरक कोण अर्थात् पराजितहरूको आँखाबाट हेर्न ‘सबाल्टर्न’ अवधारणालाई अगाडि बढाएका हुन्।
यस अवधारणमा जोडदार ढंगले कलम चलाउँदै आएकी स्पिभाकको योगदान अरुण गुप्तोले आफ्ना निबन्धमा छलफल गरेका छन्। उनले ‘हिस्ट्री फ्रम बिलो’ को अवधारणाबाट नेपालको इतिहास लेखन र पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका छन्।
समाजका लागि मिथकीय नायक-नायिकाको के भूमिका हुन्छ र राष्ट्रवादको प्रारूप तयार गर्न ती नायक-नायिकाको कसरी प्रयोग गरिन्छ त? गुप्तोका निबन्धले यस्तै प्रश्न उठाएका छन्। वस्तुतः एकातिर जित्नेहरूको नश्लीय वर्चस्व र अर्कातिर पराजित मानसिकताको कारण नायक-खलनायकको जन्म हुन्छ भन्ने अभिमत उनका निबन्धको निष्कर्षमा अभिव्यक्त हुन्छ।
हिन्दू देवीले कसरी महानायिकाका स्वरूप धारण गरेका छन् भन्न प्रश्नमा विशेषतः पूँजीवाद, पुरुषसत्ता र शासकबाट संरक्षित धर्मले नै विशेष भूमिका खेलेको परिचर्चा गरेका छन्। यस सन्दर्भमा देवीलाई शक्तिशाली बनाउनुको कारण के हो भन्ने प्रश्न पाठकका लागि छोडेका छन्।
धर्म र संस्कृतिले कसरी पर्यावरणीय प्रणालीलाई सम्बोधन गर्छ भन्ने सवालको जवाफ उनका निबन्धमा भेटिन्छन्। बढ्दो औद्योगिकीकरण, असन्तुलित विकास र पूँजीवादको अन्धाधुन्ध अनुकरणले कसरी संस्कृति र प्रकृतिलाई विनाश गरिरहेको छ भन्ने देखाइएको छ। जसका कारण जल, जमीन र जंगल तथा तीसँग जोडिएका सांस्कृतिक संरक्षक र संवाहकको पहिचानमाथि प्रहार गरिरहेको छ भन्ने पनि सटीक ढंगले टिप्पणी गरेका छन्।
विशेषतः सांस्कृतिक ध्रुवीकरण, भूमण्डलीकरण र विश्वव्यापी उष्णताको अधिकतम वृद्धिले पृथ्वीको जीवनमाथि पुर्याएको खलल चित्रण गरिएको छ। त्यसको दिगो संरक्षणका लागि औद्योगिक राष्ट्रहरूले खेल्नुपर्ने भूमिकामाथि प्रश्न उठाएर सरोकारवाला निकायलाई खबरदारी गरेका छन्।
त्यस्तै, संस्कृति सम्बन्धी अन्तरसंवादले पाठकलाई भिन्न स्वाद दिएको संवाद संकथनको अध्ययनबाट थाह हुन्छ। ‘यो समय राजनीतिक खलनायकहरूको हो’ भन्ने परिसंवादात्मक निबन्धमा परिस्थितिको बाध्यताका कारण खलनायकहरू जन्मिनुमा मनोसामाजिक कारणको भूमिका रहेको भन्ने तर्कलाई जोड दिएका छन्। उनको उही तर्कमा रहेर सामाजिक बाध्यताकै कारण नायकहरूको जन्म हुन्छ भन्ने प्रतितर्क उठान गर्नु सान्दर्भिक हुन्छ।
यस्तै, ‘संस्कृति जहिल्यै धरापमा हुन्छ’ निबन्धमा सांस्कृतिक मानवशास्त्र, सांस्कृतिक अध्ययन, सांस्कृतिक राष्ट्रवाद जस्ता गहन विषयमा परिसंवाद गरेका छन्। वस्तुतः सत्ताबाट लादिएको राजनीतिक राष्ट्रवादभन्दा जनजनबाट स्वीकार गरिएको सांस्कृतिक राष्ट्रवाद बलियो हुन्छ भन्ने उनको दृष्टिकोण देखिन्छ। सांस्कृतिक राष्ट्रवादको संरचनामा नश्लीय चरित्र हावी हुँदा राष्ट्रका लागि घातक हुन्छ भन्ने दृष्टिकोणमा उनी सचेत छन्।
नेपालको सन्दर्भमा वर्चस्वशाली समूहले सिर्जना गरेका मिथकीय पात्रले नै सांस्कृतिक राष्ट्रवादका प्रारूपमा भूमिका खेलेको तथ्यमाथि पुनर्विचार गरिनुपर्ने उनको धारणा देखिन्छ। जल, जमीन र जंगल अर्थात् पारिस्थितिक प्रणालीको दिगो संरक्षणमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण भूमिका छ।
असन्तुलित विकासको परिणामतः देखिएको विश्वव्यापी तापमान वृद्धि, सांस्कृतिक ध्रुवीकरण जस्ता सवाल र सन्दर्भमा पूँजीवादी राष्ट्रहरू बढी जवाफदेह र संवेदनशील हुनुपर्नेमा जोडबल दिइएको छ। पृथ्वी र सांस्कृतिक पर्यावरण बचाउन राजनीतिक वातावरण ठीक हुनुपर्छ भन्ने विषयलाई प्रस्ट्याउन उनले ‘पोलिटिकल इकोलोजी’ को अवधारणा अघि सारेका छन्।
निबन्धहरूमा राजनीतिक र सांस्कृतिक विषयको विमर्शका साथसाथै इतिहासकारलाई पनि सम्झना गरेका छन्। उनीहरूमध्ये कमलप्रकाश मल्ल एक हुन्। नेपालको इतिहास लेखन र इतिहासको व्याख्यामा मल्लको महत्त्वपूर्ण भूमिका छ। अंग्रेजी साहित्यका प्राध्यापक मल्लको ‘नेपाली समाजमा बुद्धिजीवी’ लेखले पञ्चायती व्यवस्थाको समयमा निकै चर्चा कमाएको थियो।
‘एउटा पोलिम्याथको सम्झना’ निबन्धमा गुप्तोले आफ्ना गुरु कमलप्रकाश मल्ललाई सम्झेका छन्। स्नातकोत्तर तहका लागि अंग्रेजी विषयको पाठ्यक्रम बनाउँदाका विविध सन्दर्भ मार्फत मल्लसँगका रोचक प्रसंगले पाठकलाई लोभ्याउँछन्। मल्लको ‘नेपाली समाजका बुद्धिजीवी’ लेखले कसरी त्यस वेलाको बौद्धिक जगत्लाई हल्लायो भन्ने विषयमा छलफल गरेको भए लेखले बौद्धिक विमर्शको एउटा इतिहासलाई उजागर गर्ने थियो।
बदलिंदो राजनीतिक परिवेश, भूमण्डलीकरण, सांस्कृतिक ध्रुवीकरण जस्ता विषयबाट नेपाल अप्रभावित छैन। अर्कातिर उत्तरआधुनिकीकरण, द्वन्द्व र प्राकृतिक विपद्ले समाजको सांस्कृतिक प्रवाह कता गइरहेको छ र त्यसले सामाजिक-सांस्कृतिक संरचनामा पारेका प्रभावबारे छलफल गरी सही दिशा चयन गर्न आवश्यक छ। गुप्तोले यस विषयमा पनि आफ्नो विचार प्रस्तुत गरेका छन्।
सामाजिक-सांस्कृतिक संरचनामा भएका हलचल र त्यसको प्रभावका आधारमा नेपाल ‘सांस्कृतिक संक्रमणकाल’ मा गुज्रिएको प्रतीत हुन्छ। एकातिर सांस्कृतिक विरासतलाई निरन्तरता दिन नसक्ने र अर्कातिर सांस्कृतिक साम्राज्यवादको प्रभावबाट मुक्त हुन नसक्ने सांस्कृतिक जटिलताको यस परिस्थितिलाई नेपालको सांस्कृतिक संक्रमणकाल भन्न सकिन्छ। निबन्धका विभिन्न सन्दर्भमा गुप्तोले यस प्रश्नलाई उठाएका छन्।
पारिस्थितिक प्रणाली र मानवबीचको अन्तर्सम्बन्धलाई मजबूत बनाउन धर्म र संस्कृति तथा विशेषतः आदिवासी जनजातिको महत्त्वपूर्ण भूमिका हुने गुप्तोको तर्क छ। तर रैथाने ज्ञान र प्रविधिलाई पूँजीवादले ध्वस्त बनाएकोतर्फ प्राज्ञिक जगत्ले चासो नदेखाएकामा चिन्तित पनि छन्। सांस्कृतिक मुद्दालाई छातीमा राख्दै गर्दा कोही पनि लँगौटी लगाएर पुरानो युगतिर फर्कंदैन। तर सांस्कृतिक अन्तर्घुलनको प्रक्रियामा वर्चस्वशाली समूहको संस्कृति प्रभावशाली हुँदा आदिवासी जनजाति समुदायको सैद्धान्तिक अवधारणा र भौतिक संरचनामा आउने परिवर्तनले पारिस्थितिक प्रणालीमा घातक प्रभाव पार्छ भन्ने नै गुप्तोका निबन्धको पेटबोली हो।
विज्ञान र प्रविधिको प्रभावले कुन हदसम्म सांस्कृतिक संरचनामा खलल पर्याउँछ? त्यसलाई सन्तुलित व्यवस्थापन गर्न ‘पोलिटिकल इकोलोजी’ ले कस्तो भूमिका खेल्छ? यी प्रश्नको जवाफमा आमसञ्चार तथा राजनीतिक नेतृत्त्वकर्ता नै बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने गुप्तोको निष्कर्ष छ।
संस्कृति सम्बन्धी यस कृतिमा नेपाली सांस्कृतिक विकासक्रमको ऐतिहासिक रूपरेखालाई आलोचनात्मक ढंगले प्रस्तुत गरेको भए पाठक अझ बढी लाभान्वित हुने थिए।
अन्त्यमा, वर्चस्वशाली समूहले सबाल्टर्नको सांस्कृतिक र ऐतिहासिक विरासतमाथि प्रहार गरिरहेको छ। त्यो प्रहारले कसैलाई पनि फाइदा नगर्ने गुप्तोको विचार छ। विशेषतः पूँजीवादका घातक नंग्राले वातावरण र पर्यावरणमाथि चिथोर्दा प्राणीजगत् नै त्रासदीमा रहेकाले खबरदारी गर्दै गुप्तोले आफूलाई पर्यावरणप्रेमीको कित्तामा उभ्याएका छन्।