आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आजदेखि लागू हुने गरी निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको निगमले जनाएको छ।
निगमका अनुसार अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ कायम गरिएको छ। यसअघि १६७ रुपैयाँ थियो।
त्यस्तै, सुर्खेत र दाङ लगायत क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। यसअघि यो क्षेत्रमा प्रतिलिटर १६९ रुपैयाँ थियो।
यसैगरी, पोखरा, काठमाडौं, दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ कायम गरिएको छ। यसअघि यो क्षेत्रमा १७० रुपैयाँ थियो।
डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा १५२ कायम गरिएको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १५४ रुपैयाँ तथा पोखरा, काठमाडौं र दिपायल क्षेत्रमा १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।