यती एअरलाइन्सले पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड
यती एअरलाइन्सले ‘इन्टरन्याशनल एअर ट्रान्सपोर्ट एशोसिएशन’ बाट ‘स्टान्डर्ड सेफ्टी एसेसमेन्ट’ को मापदण्ड प्राप्त गरेको छ।
उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई यो प्रमाणपत्र प्रदान गरिन्छ। हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने प्रयासमा यो महत्त्वपूर्ण उपलब्धि भएको यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले बताए।
सीईओ सापकोटाले भने, “यस उपलब्धिले हाम्रो टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ। साथै यात्रुलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।”
यो प्रमाणपत्र प्रदान गर्नुअघि एशोसिएशनले एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्यांकन गर्छ। एशोसिएशनले विभिन्न चरणमा मूल्यांकन गरेर यो प्रमाणपत्र दिएको सापकोटाले बताए।
यात्रु सुरक्षा र गुणस्तरीय सेवालाई ध्यानमा राखेर पछिल्लो समय एअरलाइन्सले अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरिरहेको उनको भनाइ छ।