विद्युत् प्रसारण लाइन साढे ६ हजार सर्किट किलोमिटर, आठ वर्षमा दोब्बर
विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइनको सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ।
जलविद्युत्, सौर्य लगायत ऊर्जाका विभिन्न स्रोतहरूबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ। ४०० केभी प्रसारण लाइन ६४४ सर्किट किलोमिटर छ। आव २०७२/७३ सम्ममा दुई हजार ९११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो। यसले बितेका आठ वर्षमा विद्युत् प्रसारण लाइन दोब्बर भएको देखाउँछ।
यस अवधिमा ग्रिड सबस्टेशनको क्षमता पनि बढेर १३ हजार ५० एमभीए पुगेको छ। आव २०७२/७३ मा दुई हजार २२३ एमभीए मात्र रहेको ग्रिड सबस्टेशन क्षमता गत आवसम्म १३ हजार ५० पुगेको हो।
प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन्। प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरूबाट सहुलियतपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी गरिरहेको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत झन्झटका बावजूद प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति भएको बताए।
घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए।
देशका प्रमुख शहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको पनि उनले बताए।
भारतसँगको विद्युत् व्यापारका लागि करीब दुई हजार ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ। नेपाल–भारतबीचको विद्युत् आयातनिर्यातका लागि आठ वर्षअघि करीब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकामा हाल यो क्षमता करीब दुई हजार मेगावाट पुगेको छ।
भारतसँग विद्युत् ओसारपसार गर्न इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन्। साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। नेपाल, भारत र बाङ्लादेशबीचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।
सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने प्राधिकरणको दाबी छ। छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाउन प्रस्ताव गरिएको छ।
प्राधिकरणले वितरणतर्फ पनि ठूलो लगानी गरिएको जनाएको छ। ग्रिड सबस्टेशनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल दुई लाख नौ हजार सर्किट किलोमिटर पुगेको छ।