नागरिकता त्यागेका व्यक्तिमा फेरि राष्ट्र त्याग्ने मनोविज्ञान नआउला भन्न सकिंदैन : डा. ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पदमुक्त भएका महामन्त्री डा. मुकुल ढकालले एक पटक नागरिकता त्यागेका व्यक्तिलाई राज्यको महत्त्वपूर्ण पदमा नियुक्त गर्न नहुने सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएको १५ बुँदे सुझावमा संविधानको धारा २८९ (१) बमोजिम नियुक्त हुने पदमा ल्याउन नहुने उल्लेख छ। ढकालले लेखेका छन्, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरि राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमै राखिन आवश्यक छ।’
संविधानको धारा २८९ को उपधारा १ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुख नियुक्ति सम्बन्धी व्यवस्था छ।
यससँगै डा. ढकालले स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, शैक्षिक क्यालेन्डर, संविधान संशोधन लगायत विषयमा सुझाव दिएका हुन्। उनले प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिएका छन्।