युनुस सरकारले शान्ति सुव्यवस्था कायम राख्न सकोस् : प्रगतिशील आन्दोलन
बाङ्लादेशबाट नेपालको राजनीतिक नेतृत्वले वेलैमा पाठ सिक्नुपर्ने प्रगतिशील रूपान्तरण आन्दोलनले जनाएको छ।
प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाली नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। ‘सरकारमा बसेका नेतृत्वदायी मानिसहरू निरंकुश, दमनकारी र भ्रष्ट भए भने त्यसले आमनागरिकमा सिर्जना गराउने भनेको निराशा, आक्रोश र विद्रोहको भावना नै हो। त्यसलाई वेलैमा बुझेर समुचित समाधान र सम्बोधन गर्ने दिशामा शासन सत्तामा बसेकाहरू नलाग्ने हो भने त्यो कुनै पनि वेला विस्फोट भएर बलियोभन्दा बलियो ठानिएको सरकारलाई पनि क्षणभरमा गिराइदिन्छ भन्ने कुरा बाङ्लादेशको हालैका घटनाबाट स्पष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरिको, अझ विशेषगरी नेपालको राजनीतिक नेतृत्वले यसबाट वेलैमा पाठ सिकोस् भन्ने कामना समेत गर्दछौं।’
बाङ्लादेशमा डा. मुहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनेकोमा स्वागत गरिएको छ। यससँगै फेरि अस्थिरता निम्तिने अवस्था आउन नदिन ध्यानाकर्षण गराइएको छ।
अहिले बाङ्लादेशमा चलिरहेका अराजक गतिविधि रोक्न पनि सरकारसँग आग्रह गरिएको छ। ‘पुरानो सरकार ढलेपछि पैदा भएको सत्ता-शून्यताको स्थितिमा आन्दोलनभित्र घुसेका अराजक चरमपन्थीहरूले राजनीतिक प्रतिपक्ष तथा जातीय र धार्मिक अल्पसंख्यकहरूमाथि जुन प्रकारको हत्या, लूट र दमन गर्न थालेका छन् त्यसको हामी सख्त विरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम सरकारले यस्तो अराजक हर्कतलाई अविलम्ब रोकेर छिटोभन्दा छिटो मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सकोस् तथा स्वच्छ/निष्पक्ष लोकतान्त्रिक चुनाव मार्फत देशलाई अग्रगमनतर्फ लान सकोस् भन्ने अपेक्षा गर्दछौं।’