यात्रुले होहल्ला गरेपछि धावनमार्गबाट फर्कियो विमान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ।
उडान भर्ने तयारीमा रहेको विमानलाई धावनमार्गबाट फर्काएर पार्किङमा ल्याइएको हो। शुक्रबार बिहान साढे ७ बजे सुर्खेत उडान तालिका रहेको थियो।
श्री एअरलाइन्सको विमान धावनमार्गमा पुगेर फर्किएको सुर्खेत उड्न लागेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतले बताइन्। “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’ को अन्तिम ‘पोइन्ट’ मा पुगिसकेको थियो, एक्कासि फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,” कठायतले भनिन्।
श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको बताए। “प्राविधिक समस्याका कारण होइन, दुई-चार जना यात्रुबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,” मानन्धरले भने, “नागरिक उड्डयनको मापदण्ड अनुरूप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।”
अहिले फेरि विमान गन्तव्यमा उडेको छ। शुक्रबार बिहान १० बजेर दुई मिनेटमा विमान सुर्खेतका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। (राससको सहयोगमा)