अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
काभा नेशन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ।
प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलपछि मात्रै सेमिफाइलनमा कुन टोलीले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लाग्नेछ।
नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ। त्यस्तै, तीन खेल खेलेको भारतको पनि सातै अंक छ। तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। माल्दिभ्सले अंक जोड्न सकेको छैन।
अंकतालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।
नेपालले यसअघि लिग चरणमा दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। भारत र श्रीलंकालाई पराजित गरेको नेपाल आइतबार इरानसँग पराजित भयो।