डीआईजीको सरुवाबारे गृहमन्त्रीको प्रतिक्रिया- योग्य मानिस योग्यतम ठाउँमा पुग्नुभएको छ
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे बोल्दै योग्य मानिस योग्यतम ठाउँमा पुगेको प्रतिक्रिया दिएका छन्।
सिंहदरबारमा बिहीबार आयोजित विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सरुवा नियमित प्रक्रिया भएको बताए। नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दा हेरिरहेका डीआईजी केसीलाई साउन ९ गते ब्यूरोबाट प्रहरी प्रशिक्षण तालीम केन्द्रमा सरुवा गरिएको थियो। यसलाई लिएर गृहमन्त्रीको आलोचना भइरहेको छ।
डीआईजी केसीको सरुवा विषयमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको बताए। “कर्मचारीको सरुवा र बढुवा हुन्छ। सामान्यतया अवधि तोकिएको हुन्छ, तर कहिलेकाहीं अवधिभन्दा पहिले पनि हुन्छ,” उनले भने।
सरुवाबढुवाको प्रक्रियालाई सामान्य रूपमा लिन उनले आग्रह गरे। गृहमन्त्री लेखकले भने, “उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ, किनभने प्रहरीलाई तालीम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनुपर्यो। अनि राम्रो प्रहरीलाई राम्रो तालीम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?”
त्यस्तै, गृहमन्त्री लेखकले लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्ने वा नचल्ने भन्ने नहुने बताए। “फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ? रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उनले भने, “कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानून बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो।”