शेयर बजारमा असाधारण वृद्धि, लगानीकर्ताको सम्पत्तिको मूल्य तीन सातामै साढे आठ खर्ब बढ्यो
शेयर बजार परिसूचक नेप्सेमा आइतबार शतक अंकको वृद्धि भएको छ।
मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएपछि शेयर बजार परिसूचक नेप्से ११३.४ अंकले बढेर दुई हजार ६८१ बिन्दु पार गरेको छ। यो २९ महीनायताकै उच्च वृद्धि हो। यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक दुई हजार ७२० बिन्दुमा थियो।
नेपाल राष्ट्र ब्यांकले साउन ११ मा सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले सहज कर्जा प्रवाहको ढोका खोलिदिएको थियो। संस्थागत लगानीकर्ताका लागि शेयर धितो कर्जामा २० करोड रुपैयाँको सीमालाई हटाइदिने लगायत खुकुला नीति लिएको थियो।
त्यस्तै, ब्यांक तथा वित्तीय संस्थाको नाफा बढाउन मिल्ने गरी नीतिगत प्रबन्धहरूमा फेरबदल गरिदिएको थियो। यसको प्रभाव नेप्सेमा परेको हो।
आइतबार दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। एक दिनमा कुनै पनि कम्पनीको शेयर बढ्ने सीमा अधिकतम १० प्रतिशत हुन्छ। कारोबार भएकामध्ये १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ वटाको भने घटेको छ। खासगरी, वाणिज्य ब्यांकहरूको शेयरको मूल्य बढेको छ।
कारोबार रकम पनि उच्च छ। आइतबार १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
पछिल्ला तीन सातामा शेयर बजारमा असाधारण उछाल आएको छ। असार २४ गते शेयर बजार परिसूचक दुई हजार १३६ बिन्दुमा थियो। त्यसको तीन सातामै परिसूचकमा ५४५ अंकको वृद्धि आइसकेको छ।
यस अवधिमा शेयर बजारको पूँजीकरण भनिने लगानीकर्ताको सम्पत्तिको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। आइतबार बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यो तीन साताअघि ३३ खर्ब ८८ अर्ब ६२ करोड थियो।
यसले तीन सातामा लगानीकर्ताको सम्पत्तिको मूल्य आठ खर्ब ६६ अर्ब रुपैयाँ बढेको देखाउँछ। यद्यपि बढेको सम्पत्तिको मूल्यलाई लगानीकर्ताले नाफा कमाएको रकम भनेर अर्थ लगाउन मिल्दैन।