नेपालले किन्नेभन्दा बेच्ने बिजुली धेरै, गत वर्ष १६ अर्ब ९३ करोडको निर्यात
नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली भारतलाई बेचेको छ।
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी उब्रिएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ।
प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गरेको छ। सुक्खा याममा खोला तथा नदीमा पानीको बहाव घट्दा देशभित्रका नदीप्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने भएकाले माग धान्न गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो। हिउँद याममा आयात गरिएको विद्युतको औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ।
गत आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको हो। यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो। निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खूद निर्यातकर्ता बनेको छ।
आर्थिक वर्ष २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्षका हिउँदका केही महीनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए। उनले सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था रहेकामा तीन वर्षदेखि भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात शुरू गरिएको बताए। तर निर्यातभन्दा आयात बढी गर्नुपर्ने अवस्था थियो। गत आर्थिक वर्षबाट खूद निर्यातकर्ता बन्ने अवस्था भएको उनले बताए।
उनले पर्याप्त बिजुली उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारीसाधन र इन्डक्शन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आउँदा र विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको र यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको बताए।
नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा तीन वर्षअघि प्रवेश पाएको थियो। शुरूमा विद्युत् आयात अनुमति पाएको नेपालले ३ नोभेम्बर २०२१ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करीब ७०० मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौता अनुसार थप ४०० मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको बताए। उनले बाङ्लादेशसँग पनि छिटै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट बिजुली निर्यात गरिने जानकारी दिए।
घिसिङले ‘लिऊ या तिर’ शर्त सहित विद्युत् खरीदबिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रूपमा खेर नगएको पनि दाबी गरे। तर जलविद्युत् उत्पादकले प्राधिकरणले प्रसारण लाइन नबनाइदिएका कारण तथा विभिन्न बहाना झिकेर नकिन्दा वर्षा याममा विद्युत् खेर जाने गरेको बताउने गरेका छन्।