तीन कारणले आफूमाथिको कारबाही गैरकानूनी भएको भन्दै मुकुल ढकालले गुहारे निर्वाचन आयोग
आफूलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय गैरकानूनी भएको भन्दै डा. मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
रास्वपाले गत असार २५ गते ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो। आफूलाई पार्टीबाट हटाउने निर्णय तीन कारणले अवैध भएको ढकालले साउन १३ गते आयोगमा दर्ता गरेको निवेदनमा जिकिर गरेका छन्।
कानून अनुसार सफाइको मौका नदिइएको, रास्वपाको बैठक सञ्चालन कार्यविधिको दफा ६ विपरीत महामन्त्री बाहेकले बैठक आह्वान तथा सञ्चालन गरेको र रास्वपाको सदस्य तथा पदाधिकारी भएर प्रयोग पाउनुपर्ने संवैधानिक हकबाट वञ्चित गरिएको ढकालको भनाइ छ।
निवेदनमा आफूलाई पदमुक्त गर्ने रास्वपाको निर्णय अद्यावधिक नगर्न पनि आयोगसँग माग गरिएको छ।
रास्वपाको अवस्थाबारे अध्ययन गर्न ढकाल देशका विभिन्न जिल्ला पुगेका थिए। त्यसपछि नेतृत्वसँगै पार्टीप्रतिको आमधारणा समेटेर प्रतिवेदन तयार गरेका थिए। तर प्रतिवेदनमाथि पार्टीमा छलफल नहुँदै सार्वजनिक गरेको आरोपमा रास्वपाले ढकाललाई कारबाही गरेको थियो।