नेपाललाई सान्त्वना जित, अफगानिस्तान पराजित
एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि भएको खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।
प्रतियोगितामा जितविहीन अवस्थामा पुगिसकेको नेपालले अफगानिस्तान ३–१ को सेटमा जित निकाल्यो ।
नेपालले पहिलो सेट नै जितेको थियो । नेपालले अफगानिस्तानसँग २५–२३ को प्रतिश्पर्धात्मक सेट आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट भने नेपालले गुमायो । अफगानिस्तानले पनि २५–२३ कै प्रतिश्पर्धात्मक सेट जित्यो ।
तेस्रो सेटमा भने नेपालले सहज जित निकाल्यो । शुरुमा प्रतिश्पर्धात्मक देखिएपनि नेपालले २५–१८ को फरकमा सेट आफ्नो पक्षमा ल्यायो ।
चौंथो सेट पनि उत्तिकै प्रतिश्पर्धात्मक बन्यो । मध्यतिर नेपाल तीन अंकसम्मले पछाडि परेपनि लयमा फर्किएको थियो । अन्ततः २६–२४ सहित नेपालले सान्त्वना जित निकाल्यो ।
जितसँगै नेपालले पाँचौं स्थानमा आफूलाई राख्न सफल भएको छ भने अफगानिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा रहेको छ ।
तेस्रो र चौंथों बरियताका लागि पनि आजै खेल हुँदैछ । उपाधि भिडन्त भने शनिबार मात्रै हुनेछ ।