अमेरिकालाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
गए राति ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो। यो जितसँगै इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै पूरा गरेको हो। इङ्ल्यान्डका लागि जोस बटलरले ३८ बलमा ६ चौका र सात छक्का सहित ८३ रन बनाए। त्यस्तै, फिल साल्टले २१ बलमा २५ रनमा बताए।
त्यसअघि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो। अमेरिकाका लागि नीतीश कुमारले ३० रन र कोरी एन्डरसनले २९ रन बताए। त्यस्तै, हरमीत सिंहले २१ तथा स्टिभन टेलरले १२ रन बनाए।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने साम कुरन र आदिल राशिदले समान दुई/दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिए।
यस जितसँगै इङ्ल्यान्ड तीन खेलबाट चार अंकका साथ सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अंक छ।
अमेरिका भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यही समूहमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच भइरहेको खेलको विजेता सेमिफाइनलमा पुग्नेछ।