२२२ स्थानीय तहमा पुग्यो ९० प्रतिशत भन्दा बढी बिजुली
मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरूको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्यांक–२०१९ अनुसार, ११७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम छ । केही स्थानीय तहमा विद्युत् पुगेकै छैन ।
प्राधिकरणले आइतबार आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा विद्युतीकरण तथ्यांक समेटिएको पुस्तक सार्वजनिक गरेको हो ।
५५ स्थानीय तहमा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ ।
हालसम्म कुल जनसंख्याको करीब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । कुल जनसंख्याको करीब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत् प्रयोग गर्न पाएका छैनन् । सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य राखेको छ ।
यसका लागि ग्रिड पुर्याउन सम्भव नहुने स्थानहरूमा ब्याट्री स्टोरेज प्रणाली सहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।
हरेक नेपाली जनताको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
“यसका लागि मुलुकभर नै पर्याप्त विद्युत प्रसारण तथा वितरण संजालको विस्तार योजनाबद्ध रूपमा अगाडि बढाएका छौं”, उनले भने, “अब स्थानीय तहलाई क्रमिक रूपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाउने छौं ।”
प्राधिकरणले राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा पुर्याउने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत् प्रणालीमा आबद्ध गर्ने गरी काम अगाडि बढेको घिसिङले बताए ।
४६० गाउँपालिकामध्ये १०३ मा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । प्रदेश नम्बर १ का २३, प्रदेश नं ३ तथा गण्डकीका ६\६, प्रदेश नं ५ का ७, कर्णालीका ३७ र सुदूरपश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो ।
४७ गाउँपालिकामा पाँचदेखि ३५ प्रतिशत र ७१ गाउँपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ गाउँपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।
महानगर, उपमहानगरसहित २९३ नगरपालिकामध्ये १४ वटामा पाँच प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ६ र ८ वटा नगरपालिका छन् ।
यसैगरी ८ वटा नगरपालिकामा पाँचदेखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण
भएको छ । पाँचदेखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ७ र एउटा नगरपालिका हुन् । ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।
१११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १२५ नगरपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।
प्रदेश नं ३ मा सबैभन्दा बढी अर्थात ९०.३० प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । गण्डकी प्रदेशमा ८७.३९, प्रदेश नं ५ मा ८१.०३, प्रदेश नं २ मा ७९.७७, प्रदेश नं १ मा ७५.९० र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको छ ।