म माथि अन्याय हुँदैछः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र आफूमाथि अन्याय भइरहेको दाबी गरेका छन् ।
प्रदेश नम्बर ४ मा रहका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन पोखरा आईपुगेका प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि आफूले गरिरहेका प्रयासमाथि प्रतिपक्षी दलले झुट्टा आरोप लगाएर जनतालाई उत्तेजित पार्ने काम गरिरहेको बताए ।
“मैले राष्ट्रलाई एकतावद्ध गर्न, मधेश, पहाड र हिमाल जुटाउन र मधेशी जनजाति र थारुलाई सँगै लिएर हिँड्न खोज्दा झुटो आरोप लगाईयो, दाहालले भने, “जनतालाई उत्तेजित पारेर जसरी लाद्न खोजिएको छ, विल्कुल गलत छ ।”
उनले आफ्नो ‘सत्प्रयास’लाई अन्यथा प्रचार गरेर आफू र सरकारमाथि अन्याय भएको बताएका हुन् ।
संविधान संशोधन, लोकमानसिँह कार्कीलाई महाअभियोग र निर्वाचनका बारेमा दलहरुसँग प्याकेजमा सहमतिको प्रयास गरेको भन्दै उनले उनले थपे, “तपाईँ कास्कीका पत्रकार साथीहरु र पार्टीका साथीहरु यो सच्चाइलाई जनतामाझ जस्ताको तस्तै पु¥याउन सहयोग गर्नुस्, सरकार र म माथी अन्याय हुन खोज्दैछ ।”
पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विरुद्ध विभिन्न जिल्लामा भईरहेका आन्दोलन तत्काल रोक्न प्रतिपक्षी दल नेकपा एमालेलाई सुझाव दिएका छन् ।
“एमालेले आन्दोलन रोकेन भने यो आन्दोलन संघीयता विरोधी हुनेछ,” उनले भने, “यसले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता विरुद्ध जाने खतरा भएकाले आन्दोलन रोक्न मेरो सल्लाह छ ।”
दाहालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नै तयार पारेको संशोधन प्रस्ताव आफूले अघि बढाएका दावी गरे ।
“आफुले प्रस्ताव गर्दा सही हुने, अर्काले त्यही कुरा अघि बढाउँदा राष्ट्रघाती हुने ?” उनले प्रश्न गरे ।
‘सके प्रस्ताव फेल गर्नुस’
प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव संसदबाटै फेल गर्न विपक्षी एमालेलाई चुनौति समेत दिए ।
सरकारले ल्याएको प्रस्ताव संसदमा पमिार्जन सहित पास गरौँ, मन नपरे फेल गर्नुस्, उनले भने, यसमा मेरो टेन्सन छैन । यद्यपी प्रस्ताव संसदीय परम्परा अनुसार संशोधनसहित पारित हुनेमा उनले विश्वास व्यक्त गरे ।
“हामी संसदिय व्यवस्थाको आलोचक हौँ,” दाहालले भने, “विगतदेखि यही अभ्यासमा रहेका दल नै संसद अवरोध गरिराखेका छन् ।”
संसदमा निर्वाचन विधेयक, निर्वाचनको मिति घोषण, अख्तियार प्रमुख आयुक्त लोकमान विरुद्धको महाअभियोगलाई टुङ्गो लगाउन संसद अवरोधले रोकेको उनले बताए ।
संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाले समेत स्वीकार गरेको समेत दाबी गरे ।
'निर्वाचन हुन्छ हुन्छ'
प्रधानमन्त्री दाहालले स्थानीय निकायकोे निर्वाचन हुने पटक पटक दोहोर्याए ।
“हामीले चैतमा गर्ने भनेका थियौँ,” उनले भने, “बैशाख, जेठसम्म भने नि निर्वाचन हुन्छ हुन्छ ।”
पुरानै संरचनामा निर्वाचन गर्ने वा नयाँ संरचना टुंगो लगाएर गर्ने भन्ने बारेमा अहिले छलफल चलेको बताउँदै उनले यसबारे सहमति भने नभएको दाबी गरे ।
युवराज श्रेष्ठ, पोखरा