इतिहास रच्दै सुनको मूल्य, फेरि तोलाको तीन सयले बढ्यो
पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा बुधबार फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु. ३०० र चाँदीमा प्रतितोला रु. ५ ले बढेको छ ।
छापावाला सुन प्रतितोला ७१ हजार ३०० पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७१ हजारमा कारोवार भएको थियो । तेजाबी सुनको मूल्य पनि प्रतितोला ३०० ले वृद्धि भएको छ ।
स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । चाँदीको मूल्य रु पाँचले वृद्धि भएर प्रतितोला ८३० पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ८२५ मा खरीदबिक्री भएको थियो ।