संविधान दिवस मनाउन आइपुग्छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस मनाउन नेपाल आइपुग्ने बताएका छन् । स्वास्थ्य परीक्षण र उपचारका लागि सिंगापुरमा केही समय बस्ने भएपनि संविधान दिवस मनाउन आइपुग्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भने, “म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडा मै हुन्छु ।” प्रधानमन्त्रीले केहीले गइहालोस् भनेपनि १५ वर्ष तगडा नै रहने बताए ।
गृह मन्त्रालयले राखेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यसपटकको संविधान दिवस भव्य रुपमा मनाउने बताए ।
“संविधान दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस्”, प्रधानमन्त्री ओलीले भने ।
संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीले स्मरण गरे ।
बैठकले २, ३ र ४ असोजमा संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसको तयारी २७ भदौबाटै हुनेछ । बैठकले कागज र कपडा बाहेकका झण्डालाई निषेध गरेको छ ।