तीन दिन भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको छ ।
जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताए । उक्त ट्रफ नजिक परेको बेला वर्षा निरन्तर भइरहन्छ । तर यस वर्ष नेपालमा मनसुनी ट्रफ जुलाई १३ मा एक पटक मात्र नेपाल नजिक आइपुगेको थियो ।
त्यसको प्रभावले काठमाडौँ उपत्यकामा यस वर्ष मनसुन शुरु भएपछि सबैभन्दा धेरै वर्षा जुलाई १३ अथोत् असार २८ मा १०४ मिलिलिटर भएको थियो ।
यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो । ५० देखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्नै गरेको मौसमविद्को भनाइ छ ।