रवि लामिछानेका पक्ष र विपक्षको प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा
टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थालेपछि चितवनमा दिनहुँ पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।
लामिछानेका समर्थकहरुले रिहाइको माग गर्दै प्रदर्शन गर्ने र अर्का पक्षले पत्रकार शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन गरिरहेका छन् ।
दिनहुँको नाराबाजी र प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि निषेधित क्षेत्र नै घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा अदालत, अस्पताल, सरकारी कार्यालयलगायत छन् । निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
निषेधित क्षेत्र घोषणा गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन स्थानीय राजनीतिक नेतृत्व समेत सहमत भएका छन् ।
रवि लामिछानेसहित तीन जनालाई पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।