थप समाचार शुक्रबार, साउन ३१, २०७६

तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाकाे आग्रह

हिमालखबर

नेपालमा तीन दिनसम्म मनसुनी वर्षा भइरहन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले त्यसको प्रभावले मनसुन सक्रिय रहने अनुमान गरिएको छ ।

महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस